नेकपा एमालेको ११ औं महाधिवेशनमा संस्थापन पक्षबाटै उम्मेदवार बन्दा पनि गुरू बराल उपाध्यक्षमा पराजित बनेका छन् ।
सुवास नेम्वाङको निधनपछि अध्यक्ष केपी शर्मा ओलीले रिक्त उपाध्यक्ष पदमा बराललाई मनोनीत गरेका थिए । तर ११ औं महाधिवेशनबाट अनुमोदन हुन खोज्दा उनले १ हजार १ सय ३७ मत मात्रै प्राप्त गरे ।
एमाले उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुजी पन्त विजयी भएका छन् । विष्ट ईश्वर पोखरेल प्यानलबाट निर्वाचित बनेका हुन् ।
अध्यक्ष ओलीको विश्वासपात्र र ‘कोर टिम’का सदस्य मानिने बराललाई यो पराजयले उनको राजनीतिक यात्रामा अर्को धक्का लागेको छ ।
पार्टीको आन्तरिक समीकरण र मनोनयनमा सधैं बाजी मार्दै आएका बराल जनताबाट अनुमोदित हुने प्रत्यक्ष चुनावमा जस्तै यसपटक पार्टीभित्रको चुनावमा पनि ‘अभागी’ सावित भएका छन् ।
२०३० सालदेखि राजनीतिमा सक्रिय र एमालेको वैचारिक नेता मानिने बरालको चुनावी रेकर्ड हेर्दा उनले २०५१ सालयता कुनै पनि चुनाव जित्न सकेका छैनन् ।
२०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित हुनु नै उनको संसदीय राजनीतिको अन्तिम जित थियो । त्यसयता उनले पाँचवटा संसदीय चुनाव लडे, तर नतिजा सधैं निराशाजनक रह्यो ।
२०५६ सालमा सोही क्षेत्रबाट पराजित भएका बराल २०६४ को पहिलो संविधानसभामा माओवादीका गोपी अछामीसँग र २०७० को दोस्रो संविधानसभामा कांग्रेसका दिलीप गच्छदारसँग पराजित बने ।
जनताबाट प्रत्यक्ष भोट माग्दा बारम्बार अस्वीकृत भएपछि बरालले सुरक्षित ठानिएको राष्ट्रियसभाको बाटो रोजेका थिए । तर, २०७८ माघ १२ मा भएको राष्ट्रियसभा निर्वाचनमा मत बराबर भएपछि गोला तान्दा उनी झापाका गोपाल बस्नेतसँग पराजित भए ।
आमचुनाव र जनताको परीक्षणमा सधैं असफल हुँदै आएका बरालको पार्टीभित्रको चुनावी इतिहास पनि उतारचढावपूर्ण छ ।
२०४४ सालमा नेकपा माले मोरङको सचिव र २०४६ पछि एमाले मोरङको सचिव भएका उनी २०४९ मा सम्पन्न पाँचौं महाधिवेशन र २०५४ मा नेपालगन्जमा भएको छैठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
तर, २०५९ मा जनकपुरमा सम्पन्न सातौं महाधिवेशनमा उनी सुनसरीका भीम आचार्यसँग पराजित बन्न पुगे । चुनाव हारेपछि पनि उनी मनोनयनकै बलमा केन्द्रीय कमिटीमा अटाएका थिए । बराललाई ओलीले नै केन्द्रीय सदस्यमा मनोनीत गराएका थिए ।
बरालले २०६५ मा बुटवलमा भएको आठौं महाधिवेशनमा भीम आचार्यलाई हराएर बदला लिए पनि नवौं महाधिवेशनमा आचार्यले सचिव जित्दा बरालको भूमिका खुम्चियो ।
२०७८ मा चितवनमा भएको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य हुँदै स्थायी कमिटी र पछि उपाध्यक्षमा मनोनीत भएका बराल ११ औं महाधिवेशनमा आइपुग्दा भने आफ्नै कार्यकर्ताबाट अस्वीकृत भए ।
मदन भण्डारी स्मृति प्रतिष्ठानमार्फत ओलीलाई गुट निर्माणमा शुरूआती दिनदेखि साथ दिएका कारण उनी ओली निकट मानिन्छन् । मोरङमा विनोद ढकालले ओलीको निर्देशन विपरीत कदम चालेपछि बराल थप शक्तिशाली बनेका थिए ।
तर, कहिले राष्ट्रपतिको चर्चा, कहिले बागमती इन्चार्ज त कहिले उपाध्यक्षसम्मको यात्रा तय गर्दा उनको मुख्य योग्यता ‘चुनाव जित्ने’ नभई ‘अध्यक्षलाई रिझाउने’ क्षमता नै देखिएको एमालेकै नेताहरू बताउँछन् ।