
काठमाडौं, ९ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी परिणाम सार्वजनिक भएपछि नेकपा एमालेले माओवादी बाहेकको सरकार बनाउने प्रयास गरेको खुलासा गरेका छन् । उनले एमाले नेताले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने कसरत गरे पनि त्यो सफल नभएको खुलासा गरेका हुन् । नवलपुरको कावासोतीमा शनिवार आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।
प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम आउँदा एमालेका केही नेताले माओवादीलाई एक्ल्याएर सरकार बनाउने कोशिष गरेको प्रचण्डको भनाइ थियो । तर समानुपातिकतर्फ नेपाली कांग्रेसले पनि एमालेकै हाराहारी मत ल्याएको र एमाले एक्लैको बहुमत पुग्ने स्थिति नबनेपछि एमालेका नेताहरु पार्टी एकताप्रति सकरात्मक भएको उनले बताए ।
संविधान मान्दिन भन्न मिल्दैन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलहरुको सहमतिमा नै संविधान लेखिएकाले संविधानमा लेखिएको चुनावी प्रणाली मान्दिन भन्न नमिल्ने बताएका छन् । सन्त नेता कृष्णप्रसाद भट्टराईको ९४औँ जन्मोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले नेपाली काँग्रेसतर्फ लक्षित गर्दै खेल सकिएर एउटाले जितेर विजयको हात हल्लाएपछि अर्काेले खेलको नियम मान्दिन भन्न नहुने बताए ।
आफू शासक नभएको र आफूमा कुनै पनि खालको दम्भ नभएको अध्यक्ष ओलीको भनाई छ । उनले भने, “म कुलघरानाको होइन, घाँस काटेर, भकारो सोहोरेर हुर्किएको हो, ममा कुनै दम्भ छैन ।”
कालीकोटमा कर्फ्यु– म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय कालीकोटमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गर्दा भएको झडपमा २० जनाभन्दा बढी घाइते भएका छन् । स्थिति तनाबग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले अर्काे आदेश नहुन्जेलसम्मका लागि जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी गरेको छ ।
घटनाका विषयमा जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, राजनीतिक दल नागरिक समाज र प्रशासनबीच छलफल भए पनि कुनै सहमति नभएको नागरिक समाजका अगुवा एवं सञ्चारकर्मी रत्न कार्कीले जानकारी दिए । मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्तिको व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् ।
नेतृत्वले जिम्मेवारी लिनुपर्छ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनमा कांग्रेस पराजय भएको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने बताएका छन् । राजधानीको डिल्लीबजारमा शनिबार भएको कार्यक्रममा सिंहले अन्तर्राष्ट्रिय प्रचलनमा निवार्चनमा पराजय भए नेतृत्वले राजीनामा दिने प्रचलन भएको भन्दै नेपाली कांग्रेसमा पनि नेतृत्वले राजीनामा दिनुपर्ने आफ्नो मान्यता रहेको बताए । नेता सिंहले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश छिटो भन्दा छिटो प्रमाणिकरण गर्न राष्ट्रपतिलाई आग्रह गरे ।
यसैबीच, नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पार्टीलाई सशक्त बनाउन पार्टी नेतृत्वलाई दवाव दिन सुरु गरेको छ । नेविसंघका विद्यार्थी नेताहरुले काठमाडौंमा भेला आयोजना गरी निर्वाचनबाट पराजित भएको पार्टीलाई सशक्त बनाउन सुद्धिकरण अभियान संचालन गर्न पार्टी नेतृत्वलाई दवाव दिने अभियान सुरु गरेको हो ।
अस्पतालमा सेवा ठप्प– सेवा सुविधा सम्बन्धी १५ बुँदे माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएपछि ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज टिचिङ हस्पिटलको सेवा ठप्प भएको छ । आन्दोलनका कारण १० दिन देखि अस्पताल बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् भने भर्ना गरिएका विरामीलाई डिस्चार्ज गरिएको छ । हाललाई सेवा प्रवाह गर्न भन्दै अस्पतालले इमरजेन्सी खुला गरे पनि इमरजेन्सी एक्सरे, ल्याव, आइसियू लगायतका विभागहरु बन्द छन् ।
स्वास्थ्य कार्यक्रम– कारागारमा रहेका कैदीहरुलाई लक्षित गरी सरकारले आठ जिल्लामा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । इलाम, झापा, पर्सा, कास्की, पाल्पा, बाँके, सुर्खेत र कैलालीमा आगामी फागुन महिनासम्ममा मानसिक स्वास्थ्य कार्यक्रम पुर्याउने तयारी सरकारको छ । कार्यक्रम सुरु गर्न हाल आन्तरिक गृहकार्य भइरहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले जनाएको छ ।
विदेशका खबर– सीबीआईको बिशेष अदादतलले भारतको बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालु प्रसाद यादबलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
बहुचर्चित चारा घोटाला काण्डमा अदादतले उनलाई दोषी ठहर गरेको हो । दोषी ठहर गरेसँगै अदालतलबाटै उनी पक्राउ परेका छन् । अदालतले उनीसहित १५ जनालाई दोषी ठहर गरेको हो ।
खेल खबर– एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटमा चितवन टाइगर्सले पहिलो जित दर्ता गरेको छ । ललितपुर प्याट्रियोट्सलाई ५ विकेटले हराउँदै टाइर्गसले पहिलो जित दर्ता गरेको हो । ललितपुरले दिएको १ सय ३१ रनको लक्ष्य चितवन टाइगर्सले खेल सकिन ४ बल बाँकी छदा ५ विकेट गुमाएर भेट्टायो ।
यस्तै, त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको अर्को खेलमा विराटनगर वारियर्सले लगातार चौथो जित निकालेको छ । विराटनगरले भैरहवा ग्लाडिएटर्सलाई ३५ रनले पराजित गरेको हो । विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवा १८ ओभर ३ बलमा १ सय १४ रनमा अलआउट भएपछि विराटनगर ३५ रनले विजयी भएको हो ।
फाल्गुनन्द गोल्डकप– पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपमा डिफेण्डिङ च्याम्पियन झापा ११ ले विजयी सुरुवात गरेको छ । ताप्लेजुङलाई झापाले ट्राइब्रेकरबाट पाखा लगाएको हो । निर्धारित समयमा दुबै टिमले १—१ गोल गरेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । आइतबार सुनसरी ११ र एपिएफ क्लब विच खेल हुने आयोजक फिदिम स्पोर्टीङ क्लबले जनाएको छ ।