
नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका आउने लगभग निश्चित भएको छ । पार्टीका महामन्त्री गगन थापाले कार्यतालिका थोरै संशोधन गरेर पुस अन्तिममै महाधिवेशन गर्न सकिने गरी प्रस्ताव राखेका छन् । थापाले वडा, क्षेत्र र केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गरे पनि संस्थापन पक्ष त्यसको विपक्षमा देखिएको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले कार्यतालिका अनुसार १५ औं महाधिवेशनको मितिमा सामान्य हेरफेर गर्न सकिने प्रस्ताव राखे । उनले तीन तहको महाधिवेशन गर्न सकिने गरी प्रस्ताव राखेका हुन् । जसमा वडाको अधिवेशन गर्ने र क्षेत्रीय प्रतिनिधि छान्ने, क्षेत्रीय अधिवेशन गरेर केन्द्रीय महाधिवेशनको मेरुदण्ड महाधिवेशन प्रतिनिधि छान्ने र केन्द्रीय अधिवेशन गर्ने बाटो खुलाउन सकिने प्रस्ताव राखेको उनले जानकारी दिए ।
क्षेत्रीय अधिवेशनपश्चात पुस २६ देखि केन्द्रीय महाधिवेशन गर्न सकिने बैठकमा प्रस्ताव राखेको थापाले जानकारी दिए । प्रस्तावित संशोधनको कार्यतालिकामा १६ गते गर्ने भनिएको वडा अधिवेशन २१ गते गर्ने र २१ र २२ को क्षेत्रीय अधिवेशन २३ गते गरेर पुस २६ देखि २८ सम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गगनको छ।
‘त्यसपछि तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन गरौं । महाधिवेशनको अन्तिम मिति सार्न पाइँदैन, तर त्यसअघिका कार्यतालिकामा सामान्य हेरफेर गर्न सकिन्छ,’ महामन्त्री थापाले भने ।
तर, महामन्त्री थापाको प्रस्तावमा संस्थापन पक्षले प्रष्ट विमति राखेको छ । आजकै बैठकमा बोलेका नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री महेन्द्र यादवलगायतका नेताहरूले तीन तहको मात्र महाधिवेशन स्वीकार्य हुन नसक्ने धारणा राखे ।
उनीहरूले हचुवाका तालमा कार्यतालिका ल्याउने र तीन तहको मात्र अधिवेशन गर्ने कुरा स्वीकार्य हुन नसक्ने धारणा राखेका थिए।
‘वडाबाट तहगत अधिवेशन गर्दै आउनुपर्छ । हचुवाको भरमा नसक्ने कार्यतालिका ल्याउने अनि अहिले फेरि अधिवेशन अगाडि-पछाडि गर्न मिल्दैन भनेर उहाँहरूले कुरा राख्नुभयो,’ बैठकमा सहभागी एक नेताले लोकान्तरसँग भने ।
पूर्ण महाधिवेशन ल्याउन एनपीको जोड
बैठकमा बोल्दै संस्थापन पक्षीय नेता एनपी साउदले महाधिवेशनको अपूर्ण कार्यतालिका स्वीकार्य नहुने धारणा राखे ।
बैठकमा राखेको धारणाबारे लोकान्तरलाई जानकारी दिँदै उनले पार्टीले अहिले पनि व्यवहारिक रूपमा जटिल हुने कार्यतालिका ल्याएको भन्दै पुनः कार्यतालिका ल्याउँदा सबै तहको महाधिवेशन हुने ग्यारेन्टीसहितको कार्यतालिका आउनुपर्ने धारणा राखेको बताए ।
‘अब कसैलाई दोषारोपण गरेर हुँदैन । पूर्णरूपमा सबै तहको अधिवेशन हुने गरी कार्यतालिका आउनुपर्यो भनेर मैले कुरा राखेँ,’ साउदले लोकान्तरसँग भने, ‘अब १० चोटि स्थगन गरेर महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुहुँदैन ।’
साथै उनले बैठकमा अनुशासनको नाममा भएको कारबाहीलाई निर्वाचनको मुखमा आम माफी दिएर मिनाहा गर्नुपर्ने धारणा राखेको पनि बताए । यस्तै भू-राजनीतिक जटिलताको अवस्थामा चुनावको सुनिश्चितता हुनुपर्ने र कांग्रेसले त्यसै अनुरूप तयारी गर्नुपर्ने धारणा राखेको पनि बताए ।
विशेष महाधिवेशनमा थापाको जोड
बैठकमा राखिएको प्रस्तावबारे जानकारी दिँदै महामन्त्री थापाले करिब ४० दिन महाधिवेशन गर्न सकिन्छ कि सकिँदैन भन्ने बहसमा खेर फाल्दा कार्यतालिका कार्यान्वयनमा समस्या भएको बताए । अहिलेको कार्यतालिका अनुसार काम गर्न समयको दबाब भए पनि दोष जति केन्द्रीय क्रियाशील व्यवस्थापन समितिलाई मात्र दिने काम भइरहेको थापाको भनाइ छ।
‘सदस्यता व्यवस्थापन समिति भनेको पार्टी कार्यालयको एउटा सचिवालय मात्र हो । यसको काम क्रियाशील सदस्यताको फारम तल्लो तहमा पठाउने हो,’ थापाले भने, ‘नेपाली कांग्रेसको विधानअनुसार क्रियाशील सदस्यताको नवीकरण जिल्लामै टुंगिन्छ र नयाँ क्रियाशील सदस्यताको विषय क्षेत्रमै टुंगिन्छ।’
क्रियाशील व्यवस्थापन समितिका संयोजक समेत रहेका थापाले केही जिल्लामा क्रियाशीलको स्वाभाविक विवाद रहेको भन्दै केही ठाउँमा बदनियतका साथ क्रियाशील सदस्यताको प्रक्रिया अवरुद्ध गरिएको दाबी गरे । विवाद समाधानका लागि विशेष प्रस्ताव पनि राखेका उनले जानकारी दिए ।
‘जहाँ स्वाभाविक विवाद छ वा बदनियत देखिएको छ, त्यस्ता स्थानमा केन्द्रीय समितिले तत्कालै सर्वाधिकार सम्पन्न प्रतिनिधि केही दिनका लागि फिल्डमा पठाओस्,’ थापाको प्रस्ताव छ, ‘ती प्रतिनिधि तीन/चार दिन त्यहीँ बसेर विधानले दिएको अधिकार प्रयोग गर्दै क्रियाशील सदस्यतासम्बन्धी विवाद त्यहीँ टुंग्याउन सकून्। यसो गर्न सके बहुसंख्यक स्थानका विवाद समाधान हुन्छन् ।’
यसरी काम गर्दा समेत कुनै ठाउँबाट नियतवश क्रियाशील सदस्यताको प्रक्रिया अघि बढाइएन भने त्यस्ता ठाउँमा पुरानो क्रियाशील सदस्यताको आधारमा महाधिवेशनको प्रकृया अघि बढाउनुपर्ने उनको धारणा छ । ‘आवश्यक परे त्यस्ता स्थानलाई प्रक्रियाबाट बाहिर राख्ने व्यवस्था गर्नुपर्छ । कुनै एक/दुई जिल्ला वा निर्वाचन क्षेत्रमा समस्या देखाएर सम्पूर्ण पार्टीको अधिवेशन प्रभावित गर्ने प्रयास स्वीकार्य हुँदैन र त्यस्ता अवस्थामा आवश्यक कारबाही हुनुपर्छ,’ थापा भन्छन् ।
यसरी काम गर्दै तीन तहको अधिवेशन गर्न सकिने थापाको प्रस्ताव छ।
‘१४औं महाधिवेशनमा पनि धेरै जिल्लाका अधिवेशन केन्द्रीय महाधिवेशनपछि भएका उदाहरण छन् । केही प्रदेशका अधिवेशन पनि केन्द्रपछि नै सम्पन्न भएका थिए,’ थापाले भने, ‘महाधिवेशन एकै पटक सबै तहमा हुनैपर्छ भन्ने हुँदैन । सबै १६५ निर्वाचन क्षेत्रको प्रतिनिधित्व नपुग्दैमा महाधिवेशन रोकिँदैन । अहिले अधिवेशन गर्ने समयको ठूलो दबाब छ।’
अधिवेशन टार्दै जाने, छलछाम गर्ने प्रवृत्तिले पार्टीलाई ठूलो क्षति पुर्याउन र देशभरका कार्यकर्तालाई निराश बनाउन नदिने भए आफूले राखेको विकल्पअनुसार अघि बढ्नुपर्ने थापाको प्रस्ताव छ।
‘हेर्दै जाऔं, पछि गरौं, भनेर आलटाल गर्नु हुँदैन । आवश्यक तयारी समिति, प्रतिवेदन लेखन समिति लगायतका काम नगरी, केवल कार्यतालिका बनाएर क्रियाशीलको जिम्मा महामन्त्रीमाथि थोपर्ने र तलका तहले काम नगरेको भन्दै अधिवेशन सम्भव भएन भन्नु स्वीकार्य हुँदैन,’ उनले भने ।
जारी केन्द्रीय समिति बैठकबाट कार्यतालिका संशोधन गरी गति र एकताका साथ अधिवेशनतर्फ जाने वातावरण नबने विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नु बाहेक विकल्प नरहने थापा बताउँछन् ।
‘यदि नियमित अधिवेशन सम्भव भएन भने विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व दिनु पनि सभापतिकै जिम्मेवारी हो, र त्यो नयाँ नेतृत्वले मात्र कांग्रेसलाई चुनावमा डोर्याउन सक्छ,’ थापाले भने ।