
काठमाडौँ, ९ पुस- चीनले जमीन र पानी दुवैमा अवतरण तथा उडान गर्न सक्ने विमान बनाएको छ | संसारकै सबैभन्दा ठूलो भनिएको उक्त विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ।
विमान बनाउन आठ वर्ष लगाइएको थियो।
यो विमान आगलागी नियन्त्रण तथा सामुद्रिक दुर्घटनाहरुमा उद्धारका लागि प्रयोग हुने बताइएको छ।
लगभग बोइङ ७३७ को आकारको उक्त एजी६०० विमानमा चारवटा 'टर्बोप्रप' इन्जिन छन् भने विमानले ५० यात्रु बोक्न सक्ने र १२ घण्टासम्म उडान भर्न सक्ने बताइएको छ।
सैन्य उपयोगिता भएको यो विमान विवादित साउथ चाइना सी क्षेत्रमा पनि प्रयोगमा आउन सक्ने ठानिएको छ।
'कुनलोङ्' नाम दिइएको उक्त विमान सो क्षेत्रमा चीनले आफ्नो भाग भनी दावी गरेको सबैभन्दा दक्षिणी कुनासम्म पुग्न सक्छ।
सरकारी सञ्चारमाध्यम सिन्ह्वाले उक्त विमानलाई समुद्र र द्वीपहरुको 'संरक्षक'का रुपमा चित्रण गरेको छ। साउथ चाइना सीसम्बन्धी चिनियाँ नीतिको विभिन्न छिमेकी मुलुकहरुले प्रतिवाद गरेका छन्।
राष्ट्रसंघ समर्थित एउटा न्यायाधिकरणले साउथ चाइना सीको अधिकांश क्षेत्रमाथिको चिनियाँ दावी गत वर्ष खारेज गरिदिएको थियो।
- बीबीसी