
काठमाडौं, १२ पुस– माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले केही दिन पहिले सामाजिक सञ्जालमा एएटा फोटो र स्टाटस सार्वजनिक गरे । आफ्नो फेसबुमार्फत उनले मोटरसाइकलमा स्टेसनरी सामान ढुवानी गरिरहेको तस्बिर सार्वजनिक गर्दै आवश्यकले सम्पर्क गर्न समेत अपील गरे । यो तस्बिरमा धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान खिचियो ।
‘स्टेसनरी सप्लाई’मा लागेको देखेर कतिपयले लेखनाथमा पनि राजनीतिप्रति वितृष्णा पैदा भयो कि भन्दै शंका गरे । तर, न्यौपाने निष्ठाको राजनीति गर्नुपर्ने तर्क गर्दै वैचारिक वहसबिना सच्चा कम्युनिष्ट आन्दोलन टुंगोमा पुग्न नसक्ने निष्कर्षसहित नयाँ अभियान सुरु गरेको बताउँछन् ।
वर्गीय समानताजस्तो पवित्र उद्देश्यका लागि सुरु भएको कम्युनिष्ट आन्दोलनलाई सही दिशा दिन वैचारिक बहस तथा अभियान जरुरी भएको न्यौपानेको तर्क छ । काम उही भए पनि नयाँ भूमिकासहित आएको उनले बताए ।
कम्युनिष्ट सुद्धिकरण र प्रगतिशील विचारका लेखक समेत रहेका न्यौपाने भन्छन्, ‘दासयुगको सुरुवातसँगै समाजमा उत्पीडक वर्गको उदयपछि वर्गविभेदको संघर्ष सुरु भयो । यही निरन्तरतासँगै नेपालमा जन्मेका कम्युनिष्टहरुको संघर्ष अहिलेसम्म पनि जारी छ । वर्गीय समानताका नाममा ठूलो आन्दोलनहरु चले । अहिले पनि वर्गीय विभेदबिरुद्ध विभिन्न खाले अभियान चलिरहेका छन्, तर, पार्टी र शीर्ष नेता अहिले खास उद्देश्यबाट विमुख हुँदै पदका लागि संर्घष गरिरहेका छन् ।, यो कुरा युवा पुस्तालाई बुझाउनु छ ।’
न्यौपाने देश विदेशका लेखकहरुले लेखेका प्रगतिशील पुस्तकहरु पढेर युवाहरु वैचारिक रुपमा स्पष्ट हुनुपर्ने बताउँदै वैचारिक असपष्टतामा देखिएका युवाहरुलाई यस्ता किताब पढ्न उत्पे्ररित गर्ने बताउँछन् ।
‘नयाँ पुस्ता वैचारिक हिसाबले योग्य हुनुपर्छ, तब मात्रै पुराना, कम्युनिज्म बुझेर पनि बिग्रिएकाहरुलाई बिस्थापित गर्न सकिन्छ’, उनले लोकान्तरसँग भने ।
आफूले प्रगतिशील विचारको एक केन्द्र निर्माणका लागि टिम निर्माण गर्न लागेको बताउँदै उनले भने, ‘राजनीतिक तथा वैचारिक अस्पष्टताकै कारण समाज उपभोग केन्द्रित बनेको छ, यो समाजलाई नै वैचारिक बहसमा सामेल गराउन सकिन्छ ।’
पद नपाउँदा निरास हुनुभएको त हैन ? भन्ने प्रश्नमा उनी जवाफ दिन्छन्, ‘त्यसो हुँदै होइन, नयाँ उत्साहका साथ नयाँ तरिकाले नेपाली कम्युनिष्ट राजनीतिलाई योगदान दिने काम सुरु गर्न लागेको हुँ । राजनीतिक आन्दोलनमा होमिएको व्यक्ति पदका लागि मात्रै हिड्नु हुँदैन, मैले केही पाइन भन्नेमा मलाई खास असन्तोष छैन । बरु निरन्तर समाजकै लागि काम गरिरहनेछु ।’
उनले छिट्टै एक टिम निर्माण गरेर प्रगतिशील पुस्तक बिक्री बितरण तथा प्रगतिशील विचारको बहसलाई अभियानका रुपमा अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए ।
सोही अभियानको सुरुवातको क्रममा सोमबार केही पुस्तक आफैले मोटरसाइकलमा राखेर पुस्तक पसलहरुमा पुर्याएको बताए । माओवादी सशस्त्र संघर्षमा रहेको समयमा लेखनाथ अखिल क्रान्तिकारीको अध्यक्ष थिए । शान्ति प्रक्रियामा आएपनि उनले कुनै लाभको पद पाएका छैनन् भने प्रदेश र प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बन्न टिकट पाएनन् ।
आलोपालोको कुरा गलत
माओवादी केन्द्र र एमाले बीचको तालमेल एक सकारात्मक उद्देश्य भएको न्यौपानेले बताए ।
‘कम्युनिष्ट चरित्र विस्तारै विर्षदै लाभको पदका लागि झगडा गर्ने गरेका यी पार्टीहरु एक ठाउँमा आउनु नै सकारात्मक हो, नेपालको स्थायित्व र विकास लागि यो महान कार्य हो तर, सम्मानजनक ढंगले छिटो टुंगोमा पुर्याउनु पहिलो आवश्यकता हो ।’
नेता हुनु भनेकै नीति र निर्णयमा टिक्दै संवेदनशील भएर काम गर्नु भएको तर्क गर्दै न्यौपानेले लोकान्तरसँग भने, ‘अहिले अलोपालो सरकार चलाउने कुरा पनि सुनिरहेको छ, यो कुरा गलत हो, जनताले मिलेर राज्य गर्न हैन स्थायित्व र विकासका लगि जिताएका हुन्, यो कुरा मान्नैपर्छ ।’
अहिलेको जनादेशअनुसार छिट्टो सरकार गठन गर्नु नै पहिलो आवश्यकता भएको उनले बताए ।