
काठमाडौं, १२ पुस — चीनको भ्रमण गरिरहेका अफगानिस्तानका विदेशमन्त्री सलाहुद्दीन रब्बानीले उनको देश चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) मा जोडिने बताएका छन् ।
रब्बानीले अफगानिस्तान चीनको पेटी सडक परियोजनामा सक्रिय रूपमा सहभागी हुन र चीनसँग सहयोग बढाउन तयार रहेको बताए । चीनका विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री ख्वाजा आसिफसँग मंगलवार भेटघाटपछि रब्बानीले यो कुरा भनेका हुन् ।
नेपाल समेत साझेदार रहेको पेटी सडक परियोजनामा संलग्न हुन बेइजिङले अन्य देशलाई पनि आह्वान गरेको छ ।
भारत भने यस परियोजनालाई विरोध गर्दै आइरहेको छ । यस परियोजनाले पाकिस्तान नियन्त्रित कश्मीरमा राजमार्ग तथा विकास निर्माण गर्ने र त्यसो गर्नु भारतको भौगोलिक क्षेत्रमाथिको दखल हो भन्ने भारतको जिकिर छ ।
पाकिस्तानले चीनसँग सम्बन्ध विकास गरेको चित्त नबुझाउने भारत अब आएर अफगानिस्तान पनि चीनतिर ढल्किँदा हिस्स परेको छ ।
चीन, पाकिस्तान र अफगानिस्तानले आतंकवादीहरूलाई शरण नदिने विषयमा सहमति कायम गरेका छन् । आतंकवादीहरूलाई कारवाही गर्ने विषयमा पनि उनीहरू सहमत भए ।
चीन–पाकिस्तान आर्थिक कोरिडोरको अनुमानित लागत २६ अर्ब डलर छ । यसको उद्देश्य दक्षिण–पश्चिमी पाकिस्तानबाट उत्तर–पश्चिमी स्वायत्त क्षेत्र सिनजियाङसम्म रेलमार्ग र राजमार्गमार्फत तेल तथा ग्यासको वितरण छोटो समयमा
गर्नु हो ।
आर्थिक कोरिडोरले चीन र पाकिस्तानबीचको सम्बन्धमा धेरै महत्त्व राख्छ । पाकिस्तानको ग्वादर बन्दरगाहबाट चीनको काशगर क्षेत्र दुई हजार ४४२ किलोमिटर पर छ । यो कोरिडोर पाकिस्तानको नियन्त्रणमा रहेको गिल्गिट–बाल्तिस्तान र बलुचिस्तान भएर जान्छ ।
एजेन्सी