काठमाडौं, १३ पुस — दक्षिण अफ्रिकाले बुधवार सेन्ट जर्ज पार्क रंगशालामा खेलिएको चारदिवसीय दिनरात टेस्ट म्याचमा जिम्बाब्वेलाई एक इनिङ र १२० रनले हरायो । यी दुई देशबीच एक टेस्ट मात्रको शृंखला थियो ।
टेस्ट म्याच जम्मा दुई दिनमा सकियो । दक्षिण अफ्रिकाको जीतको श्रेय बलरहरूलाई जान्छ ।
बाह्र वर्षपछि कुनै पनि टेस्ट म्याच जम्मा दुई दिनमा सकिएको हो । दुई दिनमा सकिने यो बीसौं टेस्ट म्याच हो ।
सन् २००५ मा न्युजिल्यान्डले जिम्बाब्वेलाई हरारेमा एक इनिङ र २९४ रनले हराएको थियो ।
दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा ३०९ रन बनाएको थियो । त्यसपछि उसका बलरहरूले जिम्बाब्वेलाई पहिलो इनिङमा जम्मा ६८ अनि दोस्रो इनिङमा १२१ रनमा समेटेर इनिङ विजय दिलाए ।
दक्षिण अफ्रिकाका लागि पहिलो इनिङमा फास्ट बलर मोर्ने मोर्केलले ५ विकेट लिए भने दोस्रो इनिङमा स्पिनर केशव महाराजले ५ विकेट हात पारे ।
दुवै इनिङमा जिम्बाब्वेका कुनै पनि ब्याट्स्म्यानले अर्धशतक बनाउन सकेनन् । पहिलो इनिङमा त झन् उसका दुई ब्याट्स्म्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । दोस्रो इनिङमा केही राम्रो प्रदर्शन गरेको भएपनि जिम्बाब्वेले खेलमा लज्जास्पद स्थिति नै रह्यो ।
एजेन्सी