![मतदाताले भरपर्दो शक्ति खोजेका छन्, रूपन्देही-३ बाट सहजै चुनाव जित्छु– वासुदेव घिमिरे [भिडियो]](https://lktcdn2.prixacdn.net/media/basudev_ghimire_pltaM47Nk0.jpg)
रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर हुँदा गरेको कामका कारण वासुदेव घिमिरे मतदातामाझ परिचित छन् । तिलोत्तमालाई उनले विकासमा नमूना नगरपालिकाको रूपमा विकास गरेका थिए ।
तिनै घिमिरे यसपटक रूपन्देही–३ मा नेकपा (एमाले)को उम्मेदवार छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा उनले कार्यकर्ता भेटघाट र चुनावी अभियान तीव्र बनाएका छन् ।
आइतवार रूपन्देहीको मोतिपुरमा भेटिएका घिमिरेले चुनाव जित्नेमा आशावादी मात्र नभई ढुक्क रहेको दाबी गरे । देशभर वैकल्पिक भनिएको रास्वपाको पक्षमा लहर रहे पनि रूपन्देही–३ मा त्यस्तो नरहेको उनको दाबी छ ।
‘रूपन्देही ३ का जनताले देशमा शान्ति, विकास र स्थिरता खोजेका छन्, त्यसका लागि एमालेलाई भोट दिन्छन्,’ घिमिरेले भने, ‘मैले रास्वपा र नयाँ उम्मेदवारलाई चुनौती ठानेको छैन । एमाले संगठन नै चुनाव जित्ने आधार हो ।’
२०७९ सालमा रूपन्देही ५ बाट निर्वाचित भएका घिमिरेले संसद्मा प्रभावकारी भूमिका खेलेको बताए । ‘३३ महिना संसद्मा रहँदा मैले जनजीविका र यहाँँका स्थानीय सरोकार उठाएको थिएँ, अब चुनाव जिते भने रूपन्देही ३ का सरोकार संसद्मा पुर्याउँछु,’ घिमिरेले भने ।

२०७९ सालको निर्वाचनमा रूपन्देही ३ मा राप्रपाका दीपक बोहरासँग नेपाली कांग्रेसका बालकृष्ण खाण पराजित भएका थिए । बोहराको निधनपछि सो क्षेत्रमा उपनिर्वाचनको तयारी भइरहेकै समयमा जेनजी आन्दोलन भएको थियो । जेनी आन्दोलनपश्चात प्रतिनिधि सभा नै विघटन भएपछि उपनिर्वाचन स्थगित भएको थियो । अहिले निर्वाचन हुँदैछ ।
रूपन्देही ३ मा एमालेबाट घिमिरेसँगै कांग्रेसबाट सुशील गुरूङ, रास्वपाबाट डा. लेखजंग थापा नेकपाबाट फैज अहमद खाँ र राप्रपाबाट गौरव बोहरा उम्मेदवार छन् ।
मतदाताले के भनिरहेका छन् ? घिमिरेले उनीहरूसँग के–के प्रतिवद्धता जनाइरहेका छन् ?
हेर्नुहोस्, घिमिरेसँग गरिएको भिडियो कुराकानी