
काठमाडौं, १८ पुस — भारतका नयाँ विदेश सचिवमा विजय केशव गोखलेको नाम घोषणा गरिएको छ । नेपालमा नाकाबन्दी लगाउनका लागि उक्साउने एस जयशंकरलाई गोखलेले प्रतिस्थापित गर्नेछन् ।
सन् १९८१ को ब्याचका भारतीय विदेश सेवा अधिकारी गोखलेलाई चीनविज्ञ मानिन्छ । गत अक्टोबर महिनामा चीनबाट फर्केपछि उनलाई आर्थिक सम्बन्ध सचिव बनाइएको थियो । जयशंकरपछिका सबभन्दा वरिष्ठ विदेश अधिकारी गोखले नै हुन् ।
हालै भारत र चीनबीचको दोक्लम विवादमा गोखलेले तनाव घटाउन भूमिका निर्वाह गरेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
लो प्रोफाइलमा बसेर दृढ निर्णय गर्ने गोखलेको स्वभाव रहेको बुझिन्छ ।
गोखलेले नेपालप्रति पूर्ववर्ती विदेशसचिव एस जयशंकरको जस्तो कठोर दृष्टिकोण अपनाउँछन् कि सुमधुर सम्बन्ध कायम गराउँछन् भनी हेर्न बाँकी रहेको नेपाली भूराजनीतिक विश्लेषकहरूको भनाइ छ ।
एजेन्सीको सहयोगमा