काठमाडौं, १९ पुस — म्यान्मारबाट भागेर बंगलादेशमा शरण लिइरहेका रोहिंग्या शरणार्थीहरूमध्ये एक जोडीले हालै विवाह गरेका छन् । शरणार्थी शिविरको खराब हालतमा भएको यस बिहेमा अतिथिहरूले नाचगान र भोज गरे ।
क्याम्पमा एकातिर बिहेको वातावरण हुँदा अर्कोतिर सयौं मानिस चाहिँ बस्ने ठेगाना खोजिरहेका थिए ।
यो बिहे कक्सेस बजारको कुतुपालोङ शरणार्थी शिविरमा भएको थियो । म्यान्मारमा हिंसा चर्किएपछि भागेर आएका ६ लाखभन्दा बढी शरणार्थीहरू त्यहाँ बस्छन् ।
शरणार्थीहरू गत अगस्ट महिनादेखि त्यहाँ बस्नका लागि संघर्ष गरिरहेका छन् । बाँसको पोल गाडेर त्यसमाथि प्लास्टिक शीट हालेर उनीहरू बसिरहेका छन् ।
दुलाहा दुलही म्यान्मारको खा मउङ सेक गाउँबाट आएका हुन् । यस गाउँलाई रोहिंग्याको फोइरा बजारका रूपमा चिनिन्छ । त्यहाँ एक हजार पसल छन् ।
सद्दाम र शौफिकाले ताजा हिंसाभन्दा अघि नै बिहे गर्ने योजना बनाएका थिए तर उनीहरूले बंगलादेशको शरणार्थी शिविरमा आएर बिहे गर्नुप–यो ।
सद्दामको परिवार पसल चलाउँथ्यो तर अगस्टमा हिंसा भड्किएपछि म्यान्मार सेनाले उनीहरूको घर जलाइदियो र उनीहरू भागे ।
यसबीचमा धेरै हप्तासम्म सद्दाम र शौफिकाको सम्पर्क विच्छेद भएको थियो तर उनीहरूको कुतुपालोङ शिविरमा फेरि मिलन भयो ।
अब तीन महिनापछि उनीहरूले बिहेको उत्सव मनाए । शौफिकाले हातमा मेहन्दी लगाइन् भने सद्दामले नयाँ कपडामा पर्फ्युम लगाए ।
मौलवीले रंगीन कम्बलले सजेको एक सानो टेन्टमा निकाह पढाए । त्यतिखेर त्यहाँ पुरुष अतिथि मात्र थिए ।
शौफिकाले बिहेका बेलामा धेरैजसो समय फरक टेन्टमा बिताइन् जहाँ महिला अतिथि मात्र उपस्थित थिए ।
बिहेपछि अब यस जोडीलाई भविष्यको चिन्ताले पनि सताइरहेको छ । उनीहरू यस भीडमा परिवार कसरी बढाउने भनी रनभुल्लमा छन् ।
सद्दामले बच्चा पछि पाउने बताए । अहिले त शिविरमै बस्ने कि म्यान्मार फर्किने भनी उनले तय गर्नुपर्नेछ ।
एजेन्सी