![गठबन्धनबाट बाहिर गएर प्रधानमन्त्री बन्दिनँ–प्रचण्ड [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/prachanda_-ff_JAVBDTAf60.jpg)
काठमाडौं, १९ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठवन्धनबाट बाहिर गएर आफू प्रधानमन्त्री नबन्ने दाबी गरेका छन् ।
बुधबार दिँउसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा आयोजित एक कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले गठवन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नेबारे आफूले नसोचेको बताएका हुन् ।
‘प्रधानमन्त्री बन्नेबारे मैले सोचेका छैन ’ प्रचण्डले भने,‘ हामीले वाम गठवन्धन बनाएर चुनाव लड्यौं पार्टी एकताको संकल्प गरेर चुनाव लड्यौ जनताको अनुमोदन त्यसैको निम्ति भएको हो । मैले अहिले गठवन्धन भन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन ।’
तपाईले पार्टी अध्यक्ष नपाउँदासम्म पार्टी एकिकरण नहुने हो ? भन्ने पत्रकारको प्रश्नको जवाफमा प्रचण्डले त्यो सही नभएको दाबी गरे ।
पार्टी एकतामा दुई नेताको कार्यकारी भूमिका हुने सहमति भएको भन्दै त्यसलाई औपचारिकता दिन मात्र बाँकी रहेको प्रचण्डको भनाइ थियो ।
‘पार्टी एकता संयोजन समितिमा दुई नेता भनिएको छ, दुई नेताको भूमिका कार्यकारी भूमिका हुनपर्छ भन्नेमा विवाद छैन’ प्रचण्डले भने,‘ त्यसलाई औपचारिकता दिनमात्र बाँकी छ ।’
उनले पार्टी एकताको विषयमा छलफल भइरहेको भन्दै प्राविधिक कारणले रोकिएपनि आज/भोलिमा एकताबारे छलफल हुने दाबी गरे । प्रचण्डले पार्टी एकतामा समस्या आएका कारण दुई पार्टीबीचको बैठक नबसेको भन्ने कुरा सही नभएको बताए ।