
काठमाडौं, २० पुस– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व सहयागी स्टिभ बेननले जागिरसँगै होस पनि गुमाएको आरोप लगाएका छन् ।
सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई जिताउन बेननको महत्वपूर्ण हात रहेको अमेरिकी सञ्चारमाध्यम तथा विश्लेषकले बताउने गरे पनि राष्ट्रपति ट्रम्पले गएको अगस्टमा उनलाई बर्खास्त गरेका थिए ।
ट्रम्पले चुनाव जितेपछि पनि बेनन् ह्वाइटहाउसको सल्लाहकार तथा सहयोगको रुपमा रहेका थिए । बेनन्ले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपका बारेमा पत्रकार माइकल बुल्फको कितावमा उल्लेख गरेका कुरालाई लिएर राष्ट्रपति ट्रम्प आक्रोसित बनेका हुन् ।
बेनन्ले हिलारी क्लिन्टनका बारेमा डोनाल्ड ट्रम्पका छोरालाई रुसी अधिकारीले सन् २०१६ को जुनमा भएको भेटमा जानकारी दिएको बताएका थिए । रुसी अधिकारीसँगको ट्रम्प जुनियरको भेट गैरकानुनी रहेको बेनन्ले पुस्तकमा बताएका थिए ।
ट्रम्पले वक्तव्य जारी गरेर बेनन्को आरोपको खण्डन गर्दै बेनन र आफ्नो राष्ट्रपति चुनावमा उम्मेदवारीबीच कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।