
संखुवासभाका पहाडी घुम्तीहरू छिचोल्दै एउटा भ्यान मोरङतर्फ ओर्लिँदै थियो । भ्यानमा चार जना यात्रु थिए, जसले आफ्नो जीवनको सुरक्षाको भरोसा चालक तेन्जी शेर्पाको हातमा सुम्पिएका थिए ।
गन्तव्यमा पुग्ने हतारो र सुरक्षित यात्राको आशा बोकेका यात्रुहरूलाई पत्तै थिएन कि उनीहरूको ‘पाइलट’ आफैं लागूऔषधको नसामा लट्ठ छन् ।
मोरङ छिरेपछि जब ट्राफिक प्रहरीले नियमित जाँचका लागि गाडी रोक्यो, चालक तेन्जीले लागूऔषध सेवन गरेको भेटियो ।
प्रहरीले चालकलाई नियन्त्रणमा लियो भने यात्रुलाई सम्झाएर घर पठायो । यो एउटा प्रतिनिधि घटना मात्र हो, जसले सार्वजनिक यातायातमा यात्रुहरूको सुरक्षा कति जोखिममा छ भन्ने कुरालाई छर्लङ्ग पारेको छ ।
मोरङ प्रहरीको पछिल्लो तथ्यांकले सडक सुरक्षाको एउटा कुरुप चित्र देखाउँछ । मोरङ प्रहरी प्रमुख, एसपी कवित कटुवालका अनुसार, पछिल्लो दुई महिनामा मात्रै २० जना सवारी चालकलाई लागूऔषध सेवन गरेर सवारी चलाएको अभियोगमा मुद्दा चलाइएको छ ।
सार्वजनिक सवारी साधन चलाउनेहरूले नै लागूऔषध प्रयोग गर्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट ९ जना र इलाका प्रहरी कार्यालय रानीबाट ११ जना चालक पक्राउ परेका थिए ।
अझ चिन्ताजनक कुरा त के छ भने, सर्वसाधारणको छोटो दुरीको सारथि मानिने सिटी सफारीका लाचक पनि लागूऔषधको प्रयोग सबैभन्दा बढी देखिएका छन् । नाकामा कुद्ने धेरै सफारी चलाउनेले नै लागूऔषध प्रयोग गरेका थिए ।
चालकहरूले गाँजादेखि ब्राउन सुगरजस्ता कडा लागूऔषध खाएर स्टेयरिङ समात्ने गरेका छन् । मोरङ प्रहरी प्रमुख एसपी कटुवाल भन्छन् ‘नसाको तालमा गाडी दौडाउँदा चालकको सोच्ने र निर्णय लिने क्षमता कमजोर हुन्छ । सानो गल्तीले पनि ठूलो दुर्घटना निम्तिन सक्छ, जहाँ दोषी चालक मात्र होइन, निर्दोष यात्रु र पैदलयात्रीको समेत ज्यान जान्छ । लागूऔषध सेवन गरेर सवारी चलाउनु भनेको आफ्ना लागि मात्र होइन, अरूका लागि पनि ‘मृत्युको पासो’ थाप्नु सरह हो ।’
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार गत पुसदेखि हालसम्ममा ४९ जनाले सवारी चालकले लापासे गरेको भटिएको हो । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार झापा, मोरङ, सुनसरी, उदयपुर जिल्लामा १६५ जनाको परीक्षण गर्दा ४९ जना भने लापासे गरेर सबारी कुदाउने गरेको भेटिएको हो ।
‘ट्रक चलाउनेदेखि यात्रुबाहक बस चलाउनेसम्मले लापासे गरेको पायौं’, उनले भने, ‘सीमा नजिकमा सबैभन्दा बढी भेटिएका छन् ।’
गाजा, गोटी, ब्राउन सुगर लगायका प्रतिबन्धित लागूऔषध प्रयोग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
नेपालको कानूनले लागूऔषध सेवन र ओसारपसारलाई गम्भीर अपराध मानेको छ । लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा १४ अनुसार गाँजा सेवन गर्नेलाई १ महिनासम्म कैद वा २ हजार रूपैयाँसम्म जरिवाना र अफिम, कोकिन वा अन्य तयारी लागूऔषध सेवन गर्नेलाई १ वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
यदि चालकको साथमा लागूऔषधको कारोबार वा ओसारपसारको प्रमाण भेटिएमा परिमाण अनुसार १५ वर्षदेखि जन्मकैदसम्म हुन सक्छ ।
त्यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले पनि नसामा सवारी चलाउनेलाई कडा कारबाहीको दायरामा ल्याउने व्यवस्था गरेको छ ।
पहिलो पटक लागूऔषध सेवन गरी सवारी चलाएको भेटिएमा १ हजारदेखि ५ हजारसम्म जरिवाना र चालक अनुमति पत्र (लाइसेन्स) मा प्वाल पारिन्छ । पटक–पटक यस्तो कसुर गरेमा लाइसेन्स नै खारेज हुन सक्छ ।
लागूऔषधको नसामा सवारी चलाउँदा दुर्घटना भई कसैको मृत्यु भएमा ‘सवारी ज्यान’ वा ‘सवारी अंगभंग’को मुद्दा चल्छ, जसमा कडा कैद सजाय र भारी जरिवानाको व्यवस्था छ ।