काठमाडौं, २१ पुस — दक्षिण कोरियाको एकीकरण मन्त्रालयले आणविक हतियारधारी उत्तर कोरियाले अर्को हप्ता कुराकानी गर्ने दक्षिणको प्रस्ताव मानेको बताएको छ ।
यो मन्त्रालयले उत्तर कोरियासँगको सम्बन्धका बारेमा डील गर्छ । दुई कोरियाबीचको बैठक प्रायद्वीपलाई विभाजित गर्ने असैन्यीकृत क्षेत्रस्थित युद्धविराम गाउँ पान्मुन्जोममा हुनेछ ।
एकीकरण मन्त्रालयका एक अधिकारीले बताएअनुसार, उत्तरले एउटा सन्देश फ्याक्स गरेर मंगलवार वार्ता गर्ने प्रस्ताव स्वीकारेको थियो । मन्त्रालयका प्रवक्ता बाएक ताए हुआनले संवाददाताहरूलाई वार्ताको एजेन्डामा प्योङचाङ ओलम्पिक र अन्तरकोरियाली सम्बन्धमा सुधार रहेको बताएका छन् ।
उत्तर कोरियाले अनेकौं अन्तर्महादेशीय क्षेप्यास्त्र र छैठौं आणविक परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा तनाव बढेको छ ।
नयाँ वर्षको सन्देश दिने क्रममा उत्तर कोरियाका नेता किम जोङ–उनले आफूसँग आणविक बटन भएको बताएका थिए । त्यसका साथै उनले अर्को महिनामा दक्षिणमा हुने शीतकालीन ओलम्पिकमा उत्तरको एक टीम पठाउने पनि बताएका थिए ।
त्यसपछि दक्षिणले दुई देशबीच वार्ता प्रस्ताव राख्यो र उनीहरूका बीचको हटलाइन दुई वर्षपछि फेरि सुचारु ग–यो । दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन र उनका समकक्षी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शीतकालीन ओलम्पिक नसकिउन्जेलसम्म संयुक्त सैन्य अभ्यास नगर्ने सहमति जनाएका छन् ।
एजेन्सी