काठमाडौं, १० माघ — अमेरिकाको नयाँ प्रशासनले एक चीन नीतिको महत्वलाई पूर्ण रूपमा बुझ्नुपर्ने अनि ताइवानको मुद्दा बेइजिङ सरकारका लागि अत्यन्त संवेदनशील रहेको चीनले सोमवार बताएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत डिसेम्बर महिनामा ताइवान चीनको भाग हो भन्ने अमेरिकाको पुरानो मान्यतामा अडिरहनुपर्ने कुनै आवश्यकता नरहेको बताएका थिए ।
केही समयअघि ट्रम्पले ताइवानकी राष्ट्रपति चाई इङ–वेनको टेलिफोन कल लिएर दशकौंदेखिको नजिर भत्काएका थिए ।
बेइजिङको एक चीन सिद्धान्तअन्तर्गत ताइवान र मेनल्यान्ड चीन अभिन्न अंग हुन् ।
तर लोकतान्त्रिक ताइवान बेइजिङको शासनअन्तर्गत रहने इच्छा राख्दैन ।
‘हामी नयाँ प्रशासनलाई ताइवान मुद्दाको उच्च संवेदनशीलतालाई बुझ्न र एक चीन नीति कायम राख्न आग्रह गर्दछौं,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले पत्रकारसँगको नियमित भेटघाटका क्रममा बताइन् ।
एक चीन नीति अमेरिका र चीनबीचको सम्बन्धको राजनीतिक आधारशिला भएको उनको तर्क छ ।
त्यसैगरी दक्षिण चीन सागरमा चीनको स्थितिका बारेमा प्रस्ट पार्दै उनले चीनको सार्वभौम जमीनमा अमेरिकाले हस्तक्षेप गर्न नहुने बताइन् ।
एजेन्सी