
काठमाडौं, २३ पुस — चीनले अघिल्लो वर्ष जिबुटीमा पहिलो विदेशी जलसेना छाउनी बनाएपछि अब पाकिस्तानमा अर्को छाउनी बनाउन लागेको खबर आएको छ ।
यो छाउनी ग्वादर बन्दरगाहनजिक स्थापित गरिनेछ । उक्त बन्दरगाह पाकिस्तानको बलोचिस्ताननजिक छ ।
साउथ चाइना मर्निङ पोस्टमा छापिएको खबरअनुसार, ग्वादर एक नागरिक बन्दरगाह हो र यसले युद्धपोतहरूका आवश्यकतालाई पूरा गर्न सक्दैन । त्यसैले चीन यसलाई स्तरोन्नति गर्न चाहन्छ ।
‘युद्धपोतहरूका लागि मर्मतसम्भार तथा बन्दोबस्ती सेवाको पूर्ण व्यवस्था हुनुपर्छ,’ बेइजिङस्थित सैन्य विश्लेषक झोऊ चेन्मिङले उक्त पत्रिकालाई बताए ।
अमेरिका र पाकिस्तानको सम्बन्ध बिग्रेको बेलामा अब चीन नै पाकिस्तानको प्रमुख साझेदार हुने विश्लेषण भइरहेको बेलामा यो घटनाक्रम विकसित भएको हो ।
अमेरिकाले आतंकवादविरुद्ध पाकिस्तानको निष्क्रियताको आलोचना गरेपछि चीनले इस्लामाबादलाई तत्कालै समर्थन गर्दै प्रशंसा गरेको थियो ।
श्रीलंकाले हम्बनटोटा बन्दरगाह चीनलाई दिएपघि अब पाकिस्तानले ग्वादर बन्दरगाह दिन लागेको भन्दै भारत अत्यन्तै चिन्तित भएको छ ।
चीनका जहाजहरू हिन्द महासागर र अरबी समुद्रको गस्ती गर्न निस्केपछि भारत चिन्तित हुनु स्वाभाविक हो ।
एजेन्सी