
काठमाडौं, २३ पुस — चीनको पूर्वी तटमा तेल ट्यांकर र मालवाहक जहाज ठोक्किएपछि ३२ जना मानिस बेपत्ता भएका छन् ।
पनामामा दर्ता गरिएको सान्ची ट्यांकरले एक लाख ३६ हजार टन इरानी तेल बोकेको थियो । दुर्घटना भएपछि त्यसमा आगो लागेको थियो ।
चीनको यातायात मन्त्रालयले हराइरहेका मानिस जहाज कर्मचारी भएको बताएको छ । त्यसमा ३० जना इरानी र दुई बंगलादेशी छन् ।
मालवाहक जहाजका २१ जना कर्मचारीलाई भने उद्धार गरिएको छ ।
‘सान्ची अहिले तैरिँदै बलिरहेको छ । तेलमा आगो लागेको छ र हामी उद्धारकार्यलाई अघि बढाइरहेका छौं,’ मन्त्रालयले बतायो ।
सरकारी टीभी सीजीटीएनले ट्यांकरबाट धूवाँका ठूला लप्का उठिरहेको तस्वीर देखाएको छ ।
यो ठक्कर शांघाईको तटबाट लगभग ३०० किलोमिटर पर भएको थियो ।
आठवटा चिनियाँ जहाजलाई खोजी र उद्धारका लागि पठाइएको चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाले बतायो ।
ट्यांकर इरानको खर्ग टापुबाट दक्षिण कोरियाको दाएसानतिर जाँदै थियो । त्यसमा ६ करोड डलरबराबरको तेल थियो ।
हङकङमा दर्ता गरिएको मालवाहक जहाज सीइफ क्रिस्टलले ६४ हजार टन अन्न अमेरिकाबाट दक्षिणी चीनको गुआङदोङ ल्याउँदै थियो ।
बीबीसीबाट