
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विभिन्न आयोगहरूले दिएका प्रतिवेदनहरू एकमुस्ट अध्ययन गरेर सरकारले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका अर्जुननरसिंह केसीको प्रश्नमा जवाफ दिँदै उनले मानवअधिकार आयोगले जेनजी आन्दोलनका विषयमा बनाएको प्रतिवेदनलाई सरकारले अध्ययन गर्ने र कारबाही प्रक्रिया अगाडि बढाउने बताएका हुन् ।
संसद्मा आइतबार सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले भने, ‘भदौ २३ र २४ को मात्रै नभएर विभिन्न कालखण्डमा भएका आन्दोलन र दमनका प्रतिवेदनसँगै विभिन्न आयोगले तयार पारेका प्रतिवेदनको नेपाल सरकारले एकमुस्ट अध्ययन गर्छ र गर्नुपर्ने कामकारबाही गर्छ ।’
नेता केसीले प्रधानमन्त्री बालेनलाई प्रश्न राख्दै गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा भदौ २४ को घटनालाई पुरै ‘ब्ल्याक आउट’ गरेको उल्लेख गरेका थिए ।
उनले ‘रुल अफ ल’ र ‘रुल बाई ल’ को बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।