०७ असार २०८३, आइतबार

शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

जेठ २०, २०८३
काठमाडौं
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

प्रहरीले शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागरिकलाई काठमाडौंको नक्सालबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ३३ वर्षीय वाङ वेन्ड र ३२ वर्षीय चेन शुआन्गुई रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१ नक्साल नारायणचौर क्षेत्रमा चिनियाँ नागरिकहरू ‘भिजिट भिसा’मा नेपाल आएर भिसाको उद्देश्यविपरीत शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले नक्साल नारायणचौरस्थित आरआर बिल्डिङमा ‘एन्ट्रो टेक्नोलोजी’ नामक कार्यालय सञ्चालन गरेको खुलेको प्रहरीले जनाएको छ। उक्त कार्यालयमार्फत विदेशी मोडल तथा युवतीहरूको नाममा लाइभ हब एपमा अकाउन्ट खोली विदेशी तथा भारतीय नागरिकसँग साथी बनेर कुराकानी गर्ने, पैसा माग्ने तथा अन्य शंकास्पद गतिविधि सञ्चालन गर्ने गरेको आरोप प्रहरीले लगाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्