२४ जेठ २०८३, आइतबार

म प्रधानमन्त्री बन्ने चर्चा निराधार हो, चुनावअघिको कागज एकपटक पढिदिनुस् : रवि लामिछाने

जेठ २२, २०८३
काठमाडौं
म प्रधानमन्त्री बन्ने चर्चा निराधार हो, चुनावअघिको कागज एकपटक पढिदिनुस् : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका छन् ।

पाँचदिने भारत भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चुनावका बेला जनतासँग गरिएको प्रतिबद्धतामा पार्टी अहिले पनि अडिग रहेको बताए ।

भारत भ्रमणका क्रममा आफूलाई विशेष सम्मान दिइएको र त्यसपछि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बन्ने तयारी भइरहेको आशंका व्यक्त गरिरहेका विषयमा आफू जानकार रहेको भन्दै उनले सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पारे ।

‘चुनावअघि हामीले गरेको कागज एकपटक पढिदिन अनुरोध गर्छु’, लामिछानेले भने, ‘हामी अस्थिरताको पक्षमा छैनौं, स्थिरताको पक्षमा छौं । नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हुन् ।’

उनले रास्वपाले जनतासँग बोलेर र लिखित रूपमा गरेका प्रतिबद्धता नबिर्सिएको उल्लेख गर्दै ती वाचाप्रति पार्टी प्रतिबद्ध रहेको बताए ।

‘हामीले गरेको वाचा; बोलेर गरेको वाचा र लेखेर गरेको वाचा प्रति अडिग छौं, रहिरहन्छौं’, उनले भने ।

लामिछानेले प्रतिपक्षी दलहरूले उठाएका आशंका र प्रश्नलाई भने आफ्नो दृष्टिकोणका रूपमा लिएको बताए । उनले राजनीतिक दलहरूबीच निरन्तर विवाद र किचलोको वातावरण बनिरहन नहुने धारणा पनि राखे ।

‘प्रतिपक्षले गरेका प्रश्न र आशंकाहरूको आफ्नो धारणा होला, कारण होला । हामीले प्रतिपक्षले उठाएका कुरा सुनेका छौं’, उनले भने, ‘सधैंभरि किचलोको वातावरण गर्नु हुँदैन । जे सुधार्नुपर्ने छ, सुधार्दै लिएर जानेछौं । जे कुरामा ध्यानाकर्षण गराइएको छ, त्यसमा सचेत हुनुपर्नेछ र हामी सचेत भएका छौं ।’

भारत भ्रमणका क्रममा लामिछानेले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट गरेका थिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्