
काठमाडौं, २५ पुस– डा. गोविन्द केसीलाई पक्राउ गरिएकोप्रति आलोचना भएको छ । उनलाई अपराधीको शैलीमा पक्राउ गरिएको भन्दै आलोचना भएको हो ।
अदालतमा उपस्थित हुन दिएको समयसीमा भित्र उपस्थित नभएको भए पक्राउ गर्नु पर्ने तर त्यो अगावै अपराधीको शैलीमा पक्राउ गरिएको भन्दै असन्तुष्टि जनाइएको हो । प्रधानमन्त्री एवम् गृहमन्त्री शेरबहादुर देउवाले केसीलाई पक्राउ गरेकोप्रति असन्तुष्टि जनाएका छन् । उनले आफूले गृहमन्त्रालय सम्हालेको भए पनि आफूलाई प्रहरीले खबर नै नगरी पक्राउ गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
यता नेकपा एमालेले पनि केसीको पक्राउप्रति आपत्ति जनाएको छ । एमाले सचिव प्रदिप ज्ञवालीले केसीमाथिको प्रतिशोधमात्रै भएको बताए । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्राध्यापक डाक्टर गोविन्द केसीको तत्काल रिहाईको माग गरेका छन् । केसी सोमबार साँझ पक्राउ परेलगत्तै सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै भट्टराईले रिहाईको माग गरेका हुन् ।
यसैबीच, केसीका समर्थकहरुले उनलाई पक्राउ गरेको विरोधमा आज राजधानीमा विरोध प्रदर्शन गर्ने भएका छन् । डा. केसी पक्राउको विरोध गर्दै ‘सोलिडारिटी फर डा केसी एलायन्स’को आयोजनामा विहान ८ बजे प्रदर्शन हुन लागेको हो ।
एलायन्सले डा. केसीको हरेक अनशनमा साथ दिँदै आएको छ । डा केसीलाई सोमबार बेलुका अदालतको मानहानी गरेको आरोपमा पक्राउ गरिएको हो । सर्वोच्च अदालले केसीलाई मंगलबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
४ वर्ष अघि बर्खास्तीमा परेका आइओएमका डिन डा शशी शर्मालाई सर्वोच्चले पुनर्वहाली गरेपछि डा केसीले सोको विरोध गरेका थिए ।