
सन् २०२६ को फिफा विश्वकपका लागि इरानी फुटबल खेलाडीहरूलाई अमेरिकाले प्रवेशको अनुमति दिएको छ । तर टोलीका मुख्य प्रशासनिक तथा प्राविधिक कर्मचारीहरूलाई भने अझै भिसा नदिइएको इरानले बताएको छ ।
इरानले अमेरिकाको यस कदमलाई खेलकुदमा राजनीतिक पूर्वाग्रह र हस्तक्षेपको संज्ञा दिँदै आलोचना गरेको छ ।
अमेरिकी अधिकारीहरूले सबै खेलाडी र आवश्यक सहयोगी कर्मचारीलाई भिसा जारी गरिएको दाबी गरेका छन् । तर, उनीहरूले गलत बहानामा आतंककारीहरूलाई अमेरिका छिर्न नदिने भन्दै सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिएको बताएका छन् ।
यता, टर्कीस्थित इरानी दूतावासले भने फुटबल महासंघका अध्यक्ष, उपाध्यक्ष र मिडिया निर्देशकसहित १५ जना उच्च पदस्थ अधिकारीहरूलाई भिसा नदिएर अमेरिकाले भेदभावपूर्ण व्यवहार गरेको आरोप लगाएको छ ।
इरानी टोली टर्कीको प्रशिक्षण शिविरबाट मेक्सिको प्रस्थान गरिसकेको छ, जहाँ उनीहरू प्रतियोगिताभर रहनेछन् ।
भिसाको कडा सर्तअनुसार इरानी खेलाडीहरू खेल हुने दिन मात्र अमेरिका प्रवेश गर्न पाउनेछन् भने खेल सकिएकै दिन अमेरिका छोड्नुपर्नेछ । इरानका लागि मेक्सिकोका राजदूतले अमेरिकाको यस निर्णयलाई अपमानजनक भन्दै फुटबलको सर्वोच्च निकाय फिफालाई यस विषयमा हस्तक्षेप गर्न आह्वान गरेका छन् ।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी प्रतिनिधिमण्डलमा इस्लामिक रिभोलुसनरी गार्ड्ससँग आबद्ध कुनै पनि व्यक्तिलाई प्रवेश नदिइने स्पष्ट पारेका थिए । इरानी टोलीका कतिपय खेलाडीहरूले उक्त समूहमा अनिवार्य सैन्य सेवा पूरा गरेका कारण पनि भिसा प्रक्रियामा जटिलता देखिएको बताइएको छ ।
सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । जुन ११ देखि सुरु हुने यस प्रतियोगितामा इरानले आफ्नो पहिलो खेल जुन १५ मा लस एन्जलसमा खेल्ने तालिका छ ।