स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । संविधानले प्रत्येक नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ । तर, राजधानीका प्रमुख सरकारी अस्पतालहरूको वास्तविकता भने संविधानको भावनाभन्दा निकै टाढा देखिन्छ ।
सरकार फेरिन्छन्, मन्त्री फेरिन्छन्, स्वास्थ्य सुधारका ठूला–ठूला प्रतिबद्धता दोहोरिन्छन् । तर, सरकारी अस्पतालमा उपचार खोज्दै पुग्ने सर्वसाधारणको पीडा भने वर्षौंदेखि उस्तै छ ।
काठमाडौंको सिभिल अस्पताल र ललितपुरको पाटन अस्पतालमा उपचारका लागि आउने बिरामी तथा तिनका आफन्त अझै पनि टिकट काट्नकै लागि बिहान ५ बजेदेखि लाइन बस्न बाध्य छन् ।
अस्पतालको सेवा शुरू हुनुअघि नै बाहिरदेखि भित्रसम्म लामो लाइन देखिन्छ । घण्टौंसम्म लाइनमा उभिँदा पनि पालो नआउने अवस्था छ । बिरामी शरीर लिएर आएका नागरिक उपचारको आशामा अस्पताल पुग्छन्, तर उपचारभन्दा पहिले टिकटको लाइनसँग संघर्ष गर्नुपर्ने बाध्यता रहेको छ ।
अस्पताल परिसरमा बिहानै पुग्ने जो कोहीले एउटा प्रश्न सोध्न बाध्य हुन्छन्, ‘यदि राजधानीकै प्रमुख सरकारी अस्पतालमा यस्तो अवस्था छ भने दूरदराजका नागरिकले स्वास्थ्य सेवा कस्तो पाउँदा हुन् ?’
‘सरकार फेरिए पनि जनताले महसुस गर्ने परिवर्तन आएन’
दाङबाट खुट्टाको समस्या उपचार गराउन सिभिल अस्पताल आइपुगेकी सरस्वती बस्नेत बिहान ५ बजेदेखि नै लाइनमा बसेकी थिइन् । राजधानी आइपुग्दा उपचार सहज होला भन्ने अपेक्षा गरेकी उनी अस्पतालको अवस्थाले निराश देखिन्थिन् ।
उनले सरकारी अस्पतालमा उपचार खोज्ने सर्वसाधारणले दिनहुँ सास्ती खेप्नुपरेको बताउँदै सरकार परिवर्तन भए पनि जनताले महसुस गर्ने खालको परिवर्तन नआएको गुनासो गरिन् । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अझै पनि नागरिकले टिकटका लागि घण्टौं लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्न सरकारलाई आग्रह गर्दै उनले उपचार खोज्न आएका बिरामीलाई झन् पीडा थपिने व्यवस्था तत्काल सुधार गर्नुपर्ने बताइन् ।
काठमाडौंमै बसोबास गर्ने दिव्याकुमारी चौधरी आफ्ना बुवाको उपचारका लागि बिहान ६ बजेदेखि लाइनमा थिइन् । राजधानीमै बस्ने नागरिकले समेत यस्तो सास्ती खेप्नुपरेको भन्दै उनले बिरामीका आफन्तलाई अस्पताल आउनु भनेको अर्को संघर्ष शुरू हुनुजस्तै भएको प्रतिक्रिया दिइन् ।
उनका अनुसार अस्पताल पुग्नेबित्तिकै उपचार प्रक्रिया शुरू हुने होइन, बरु टिकट काट्न र पालो कुर्नमै आधा दिन बित्ने गरेको छ ।
सिभिल अस्पतालमा भेटिएका बुटवलका विनोद पोखरेल पनि बिहानैदेखि टिकटको लाइनमा थिए ।
उनले पहुँच भएका र आर्थिक रूपमा सक्षम व्यक्तिलाई उपचारमा त्यति कठिनाइ नहुने तर सर्वसाधारण नागरिकले भने हरेक चरणमा दुःख पाउनुपरेको बताए ।
उनले संविधानले स्वास्थ्यलाई आधारभूत अधिकारको रूपमा स्वीकार गरे पनि व्यवहारमा त्यो अधिकार कार्यान्वयन हुन नसकेको टिप्पणी गरे । विशेषगरी मध्यम वर्ग र निम्न आय भएका नागरिक निजी अस्पतालको महँगो खर्च धान्न नसक्ने र सरकारी अस्पतालमा सेवा लिन जाँदा दिनभर लाइनमा बस्नुपर्ने दोहोरो मारमा परेको उनको भनाइ थियो ।
पोखरेलले अस्पतालहरूमा प्रभावकारी अनलाइन टिकटिङ प्रणाली, समय व्यवस्थापन र डिजिटल सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।
पाटन अस्पतालमा झन् बढी भीड
सिभिल अस्पतालको अवस्था चुनौतीपूर्ण भए पनि ललितपुरस्थित पाटन अस्पतालमा भीड झन् अत्यधिक देखिन्थ्यो । अस्पताल परिसर बिहानैदेखि बिरामी र आफन्तले भरिएको थियो । बाहिरदेखि भित्रका सेवा कक्षसम्म मानिसहरूको लामो लाइन देखिन्थ्यो । कतिपय स्थानमा खुट्टा टेक्ने ठाउँसमेत थिएन ।
अस्पतालमा उपचारका लागि आएका बिरामीहरू शारीरिक रूपमा कमजोर हुने भए नै, आफ्ना आफन्तका लागि टिकट काट्न लाइनमा बसेका सर्वसाधारण पनि थकान, तनाव र अव्यवस्थाका कारण थप बिरामी हुने अवस्था देखिन्थ्यो ।
स्वास्थ्य संस्था आफैंमा बिरामीको उपचार गर्ने ठाउँ भए पनि व्यवस्थापन अभावका कारण धेरै नागरिकका लागि थप पीडाको केन्द्र बन्न पुगेको गुनासो सुनिन्थ्यो ।
बिहान ५ बजेदेखि लाइनमा बसेका रामशरण श्रेष्ठ आफ्ना आफन्तको उपचारका लागि पाटन अस्पताल पुगेका थिए । उनले लामो लाइनका कारण बिरामी र कुरुवालाई निकै कठिनाइ हुने गरेको बताए ।
उनले गरिब तथा निम्न आय भएका नागरिकले सधैं यस्तै सास्ती भोग्नुपरेको भन्दै सरकार परिवर्तन भए पनि जनताले अनुभूति गर्ने सुधार हुन नसकेको टिप्पणी गरे । श्रेष्ठले स्वास्थ्य क्षेत्रमा देखिएको यो समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने र छिटोभन्दा छिटो प्रभावकारी व्यवस्था लागू गर्नुपर्ने माग राखे ।
नुवाकोटका राप्रसाद सुवेदी आफ्नी श्रीमतीको उपचारका लागि पाटन अस्पताल आएका थिए । उनले उपचारको आशामा राजधानीसम्म आइपुग्दा पनि घण्टौं लाइन बस्नुपर्ने अवस्था दुःखद भएको बताए । बिरामीको अवस्था हेरेर तत्काल सेवा दिने प्रणाली विकास हुनुपर्ने उनको धारणा थियो ।
वीरगञ्जबाट आएकी सम्झना माझीले लाइनमा बस्दा अत्यन्त कठिनाइ भएको बताइन् । उनले आइतबार सार्वजनिक बिदा हुने भएकाले सोमबार अस्पतालमा अत्यधिक भीड हुने गरेको उल्लेख गर्दै सेवा व्यवस्थापन सुधार गर्नुपर्ने बताइन् ।
'स्वास्थ्य र शिक्षा सबैका लागि सहज र सर्वसुलभ छ भन्ने सुनिन्छ, तर वास्तविकता फरक छ,' उनले भनिन्, 'गरिब नागरिक उपचार गर्नकै लागि बिहान ५ बजेदेखि लाइन बस्न बाध्य छन् । यस्तो अवस्था अन्त्य हुनुपर्छ ।'
उपचारकै लागि अस्पताल पुगेका कृष्ण खड्काले नीति निर्माण गर्ने र सरकारमा रहेका व्यक्तिहरूले जनताको वास्तविक अवस्था प्रत्यक्ष अनुभव नगरेसम्म यस्ता समस्या समाधान नहुने बताए ।
उनले नयाँ सरकारप्रति नागरिकमा अझै आशा रहेको उल्लेख गर्दै स्वास्थ्य सेवामा डिजिटल प्रणाली विस्तार गर्नुपर्ने धारणा राखे ।
उनका अनुसार अहिलेको प्रणालीले बिरामीलाई उपचारभन्दा बढी तनाव दिने गरेको छ ।
शारीरिक रूपमा कमजोर अवस्थामा रहेका बिरामी र उनीहरूका परिवारले घण्टौं लाइनमा बस्नुपर्दा स्वास्थ्यमा थप समस्या उत्पन्न हुने जोखिमसमेत बढेको छ ।
वर्षौंदेखिको समस्या,सुधारको प्रतीक्षामा नागरिक
सरकारी अस्पतालमा देखिएको यो दृश्य कुनै एक दिनको समस्या मात्र होइन । वर्षौंदेखि दोहोरिँदै आएको व्यवस्थापकीय कमजोरी, अपर्याप्त सेवा संरचना र प्रविधिको सीमित प्रयोगको परिणाम हो ।
सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि पटक–पटक प्रतिबद्धता जनाए पनि अस्पताल परिसरमा बिहानै देखिने लामो लाइनले ती प्रतिबद्धताको प्रभाव जनताले अझै महसुस गर्न नसकेको स्पष्ट देखाउँछ ।
राजधानीका ठूला सरकारी अस्पतालमा उपचार खोज्ने नागरिकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । तर, सोही अनुपातमा सेवा विस्तार, डिजिटल व्यवस्थापन र बिरामीमैत्री प्रणाली विकास हुन नसक्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
स्वास्थ्य सेवा नागरिकको अधिकार हो । त्यसैले, उपचारका लागि अस्पताल पुगेका नागरिकले टिकट लिनकै लागि आधा दिन खर्च गर्नुपर्ने अवस्था आधुनिक र जनमुखी शासन व्यवस्थाका लागि गम्भीर प्रश्न बनेको छ ।
अब सरकार, स्वास्थ्य मन्त्रालय र अस्पताल प्रशासनले सुधारका प्रतिबद्धता भाषणमा मात्रै सीमित नराखी व्यवहारमै उतार्नुपर्ने आवश्यकता देखिएको छ । अन्यथा स्वास्थ्य सेवा सहज बनाउने प्रत्येक घोषणा अस्पतालमा बिहान ५ बजेदेखि लागेको लाइनमै हराइरहनेछ ।