
नवलपरासी, २५ पुस– पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा भएको डरलाग्दा दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
भैरहवा–भूमही सडक खण्डअन्तर्ग रामग्राम नगरपालिका– ११ मा बस र ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।
परासीबाट भूमहीतर्फ जाँदै गरेको लु १ ख ९२३६ नम्बरको माइक्रो बस विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ९२४५ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा बसका सहचालक रामग्राम नगरपालिका ५ परासीका २६ वर्षीय जितेन्द्रकुमार पाण्डे र बसमा सवार रामग्राम नगरपालिका २ पुरानो बैंकटोल बस्ने ३५ वर्षीय अरविन्द ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो।
दुर्घटनामा परी बस चालक रामग्राम–१६ का हरिनारायण केवटको अवस्था गम्भीर रहेको छ। प्रहरीका अनुसार उनको क्रिश्मन अस्पताल मणिग्राममा उपचार भइरहेको छ। घाइते अन्यको पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भइरहेको छ ।
तराईंमा लागेको बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।