०५ साउन २०८३, मंगलबार
उत्तर अमेरिकामा विश्व फुटबलको महाकुम्भ

तीन देशमा छुट्टाछुट्टै उद्घाटन समारोह, शाकिरादेखि केटी पेरीसम्मले स्टेज तताउने

क्लोजिङ सेरेमनीको सट्टा फाइनलमा 'हाफटाइम शो' आयोजना गरिने
जेठ २८, २०८३
काठमाडौं
तीन देशमा छुट्टाछुट्टै उद्घाटन समारोह, शाकिरादेखि केटी पेरीसम्मले स्टेज तताउने

विश्व फुटबलकै इतिहासमा पहिलो पटक तीन वटा आयोजक राष्ट्रहरूले एकै साथ फिफा विश्वकप २०२६ को ऐतिहासिक शुरूआत गर्दै छन् । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा तीन छुट्टाछुट्टै उद्घाटन समारोहहरू आयोजना हुनेछन् । 

इतिहासकै सबैभन्दा ठुलो मानिएको विश्वकपमा कुल १६ वटा शहरहरूमा रेकर्ड १०४ खेलहरू खेलाइनेछन् । यो विश्वव्यापी खेल उत्सव मेक्सिकोमा नेपाली समयानुसार आज रातिबाट हुँदैछ । यो उत्सव जुलाई १९ मा न्युयोर्कमा हुने फाइनल खेलसँगै समापन हुनेछ । 

यसअघि अमेरिकाले सन् १९९४ मा र मेक्सिकोले सन् १९७० र १९८६ मा विश्वकप आयोजना गरिसकेका छन् । क्यानडाले भने आफ्नो इतिहासमा पहिलो पटक पुरुष विश्वकपको आतिथ्यता गर्दै छ ।

यस पटक मेक्सिको, क्यानडा र अमेरिकामा आयोजना हुने तीन वटै उद्घाटन समारोहहरू प्रत्येक देशको पहिलो खेल शुरू हुनभन्दा ठीक ९० मिनेट अगाडि शुरू हुनेछन् । पहिलो उद्घाटन समारोह मेक्सिकोको मेक्सिको सिटीमा बिहीबार जुन ११ मा स्थानीय समयअनुसार दिउँसो १२:३० बजे शुरू हुनेछ । यो समारोह मेक्सिको र दक्षिण अफ्रिकाबिचको खेलभन्दा ठीक अगाडि हुनेछ ।

दोस्रो उद्घाटन समारोह क्यानडाको टोरन्टोमा शुक्रबार जुन १२ मा दिउँसो १:३० बजे आयोजना गरिनेछ । यो क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबिचको खेलअघि हुनेछ । 

तेस्रो तथा अन्तिम उद्घाटन समारोह अमेरिकाको लस एन्जलसमा शुक्रबार जुन १२ मा बेलुका ७:३० बजे शुरू हुनेछ, जुन अमेरिका र पराग्वेबिचको खेलको ठीक अगाडि सञ्चालन हुनेछ ।

यी तीन वटै समारोहहरूको निर्माण र निर्देशन मार्को बालिचले गर्दै छन् । बालिचले यसै वर्षको शुरूमा सन् २०२६ को मिलान कोर्टिना विन्टर ओलम्पिकको उद्घाटन समारोहको सफल निर्देशन गरेका थिए । उनका अनुसार तीन वटै समारोहहरू एउटै साझा थिममा आधारित हुनेछन् । यसको मुख्य उद्देश्य फुटबलले कसरी मानिसहरूलाई सिमानाभन्दा माथि उठेर एकताबद्ध गर्छ भन्ने देखाउनु हो ।

null

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसबाट शुरू हुने यी समारोहहरूले संगीत, संस्कृति र फुटबललाई अनुपम ढङ्गले जोड्ने बताएका छन् । यसले प्रत्येक राष्ट्रको पहिचान र प्रतियोगिताको एकता दुवैलाई झल्काउने उनको भनाइ छ । 

प्रत्येक समारोहमा भाषण, झन्डाको परेड, खेलको आधिकारिक बल प्रदर्शन र साङ्गीतिक प्रस्तुतिहरू समावेश हुनेछन् । मेक्सिको सिटीको समारोह करिब १६ मिनेट ३० सेकेन्ड चल्नेछ भने टोरन्टो र लस एन्जलसका शोहरू करिब १३-१३ मिनेटका हुनेछन् । 

कलाकारहरूको प्रस्तुति सकिएपछि मैदान खेलाडीहरूको वार्म-अपका लागि हस्तान्तरण गरिनेछ । खेल शरू हुनुभन्दा २५ मिनेट अगाडि खेलाडीहरूको मार्चपास र आधिकारिक परिचयको प्रोटोकल शुरू हुनेछ ।

प्रत्येक आयोजक देशले उद्घाटन समारोहमा आफ्नो छुट्टै दृश्य शैली र सांस्कृतिक झलक प्रस्तुत गर्नेछन् । क्यानडाले आफ्नो बहुसांस्कृतिक मोजाइक (सांस्कृतिक विविधता) लाई प्रस्तुत गर्नेछ । मेक्सिकोले आफ्नो परम्परागत कला 'पापेल पिकाडो' (कागज काटेर बनाइने कला) प्रदर्शन गर्नेछ । अमेरिकाले भने चम्किलो र जाज्वल्यमान ट्रफीको थिमलाई प्रस्तुत गर्ने बालिचले बताएका छन् ।

मेक्सिको सिटीको एस्टाडियो एज्टेका रङ्गशालामा हुने पहिलो खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै छन् । यो खेल सन् २०१० को विश्वकपको उद्घाटन खेलको पुनरावृत्ति पनि हो । यो समारोहलाई विशेष बनाउन मेक्सिको सिटीमा जुन ११ का दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । विद्यालयहरू बन्द रहनेछन् भने रोजगारदाताहरूलाई घरबाटै काम (रिमोट वर्क) गर्न प्रोत्साहन गरिएको छ । 

रङ्गशाला क्षेत्रमा केवल टिकट भएका दर्शक र आधिकारिक सञ्चारकर्मीलाई मात्र प्रवेश दिइनेछ । क्यानडामा हुने खेल क्यानडाको पुरुष राष्ट्रिय टोलीका लागि ऐतिहासिक बन्नेछ, किनकि टोलीले पहिलो पटक आफ्नै घरेलु मैदानमा विश्वकप खेल खेल्दै छ । लस एन्जलसमा हुने खेलमा भने अमेरिकी टोलीले पराग्वेको सामना गर्नेछ ।

ल्याटिन संगीतकी आइकन शाकिरा र बर्न ब्वाईले विश्वकपको आधिकारिक गीत 'दाइ दाइ' गाउनेछन् । यसका साथै मेक्सिकन संस्कृतिको प्रतिनिधित्व गर्दै आदिवासी कलाकारहरू, आधुनिक लोक टोली र फिफा विश्वकपको आधिकारिक एल्बममा रहेका अलेजान्ड्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसियन, जे बाल्भिन, लिला डाउन्स, लस एन्जलस अजुलस, माना र दक्षिण अफ्रिकी गायिका टायलाले पनि स्टेज सेयर गर्नेछन् ।

क्यानडाको बीएमओ फिल्ड रङ्गशालामा आयोजना हुने समारोहमा प्रख्यात गायिका एलेनिस मोरिसिट मुख्य आकर्षकका रूपमा रहनेछिन् । उनलाई एलेसिया कारा, एलियाना, जेसी रेयेज, माइकल बुबले, नोरा फतेही, सञ्जय, वेगेड्रेम र विलियम प्रिन्स जस्ता कलाकारहरूले साथ दिनेछन् ।

अमेरिकाको सोफाइ रङ्गशालामा हुने तेस्रो समारोहको नेतृत्व पप स्टार केटी पेरीले गर्नेछन् । उनीसँगै स्टेजमा लिसा, रेमा, अनिट्टा र फ्युचर जस्ता चर्चित अन्तर्राष्ट्रिय कलाकारहरू देखिनेछन् ।

यस विश्वकपमा परम्परागत रूपमा गरिने क्लोजिङ सेरेमनी अर्थात् समापन समारोह हुने छैन । तर, त्यसको सट्टामा जुलाई १९ आइतबारका दिन न्यू जर्सीको मेटलाइफ रङ्गशालामा हुने फाइनल खेलको बिचमा भव्य 'हाफटाइम शो' आयोजना गरिनेछ । 

इतिहासमै पहिलो पटक हुन लागेको फाइनलको हाफटाइम शोमा पप क्वीन मडोना, विश्वप्रसिद्ध के-पप ब्यान्ड बीटीएस र शाकिरा जस्ता मेगास्टारहरूले विशेष अतिथि कलाकारहरूका साथ प्रदर्शन गर्नेछन् ।

कमेन्ट गर्नुहोस्