०५ साउन २०८३, मंगलबार
मध्यपूर्वमा नाटकीय मोड

अमेरिकी वायु सेनाका चार विमान युरोप उडे : जेनेभामा इरानसँग शान्ति सम्झौताको तयारी !

जेठ २९, २०८३
काठमाडौं
अमेरिकी वायु सेनाका चार विमान युरोप उडे : जेनेभामा इरानसँग शान्ति सम्झौताको तयारी !
फाइल तस्वीर

अमेरिका र इरानबीच लामो समयदेखि जारी तनावका बीच एउटा ठूलो र अप्रत्याशित कूटनीतिक विकासक्रम बाहिर आएको छ। दुई देशबीच सम्भावित शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तयारीका लागि चारवटा अमेरिकी वायुसेनाका 'सी-१७' विमानहरू युरोप पठाइएका छन् । 

अनलाइन न्यूज पोर्टल 'एक्सियोस'को रिपोर्टअनुसार, यी विमानहरूले अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सका लागि आवश्यक उपकरण र सुरक्षा दस्ता बोकेका छन् । जे.डी. भान्सले नै अमेरिकाको तर्फबाट ऐतिहासिक सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ, जुन सम्झौता स्विट्जरल्याण्डको जेनेभामा हुन सक्ने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ । 

यो कूटनीतिक प्रयास यस्तो समयमा अघि बढेको हो, जब केही घण्टाअघि मात्रै दुवै देश युद्धको सङ्घारमा पुगेका थिए । एनबीसी न्यूजको प्रतिवेदनअनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक सैन्य अपरेशन रोक्न आदेश दिनुअघि अमेरिकी सेना इरानमाथि नयाँ मिसाइल र हवाई आक्रमण शुरू गर्नबाट मात्र तीन घण्टा टाढा थियो।

सैन्य अधिकारीहरूका अनुसार अमेरिकी सेनाले आक्रमणका लागि इरानभित्रका लक्ष्यहरू पहिचान गरिसकेको थियो। अमेरिकी नौसेनाले पनि अपरेशनका लागि आफ्ना युद्धपोत तथा हतियारहरू तैनाथ गरेर तयारी पूरा गरिसकेको थियो । 

आक्रमणको अन्तिम चरणमा राष्ट्रपति ट्रम्पले अचानक सामाजिक सञ्जालमार्फत इरानसँग सम्झौता नजिक पुगेको भन्दै हमला रद्द गर्ने निर्णय लिएका थिए। ट्रम्पको यस अचानकको निर्णय र युटर्नले अमेरिकी सैन्य कमाण्डर तथा अधिकारीहरूमा ठूलो भ्रम र आश्चर्य सिर्जना गरेको दाबी एनबीसी न्यूजले गरेको छ।

यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकाले चाँडै इरानको रणनीतिक 'खार्ग टापु'लाई आफ्नो नियन्त्रणमा लिने दाबी गरेका थिए। तर, सैन्य स्रोतहरूका अनुसार उक्त टापु अमेरिकी सेनाको सम्भावित आक्रमणको स्वीकृत सूचीमा समावेश नै थिएन। अधिकारीहरूका अनुसार ट्रम्पको सार्वजनिक बयान र भुइँमा भइरहेको वास्तविक सैन्य योजनाबीच तालमेल मिलेको थिएन।

प्रस्तावित शान्ति सम्झौताको सबैभन्दा महत्त्वपूर्ण पाटो मध्यपूर्वको क्षेत्रीय सुरक्षासँग जोडिएको छ, जसमा इजरायल लेबनानबाट फिर्ता हुनुपर्ने सर्त समावेश छ। लेबनानको अखबार 'अल-अखबार' मा प्रकाशित एक रिपोर्ट अनुसार, अमेरिका र इरानबीचको प्रस्तावित मस्यौदाले इजरायललाई लेबनानमा आफ्नो सैन्य कारबाही पूर्ण रूपमा बन्द गर्न बाध्य पार्नेछ। 

सम्झौताको सर्तअन्तर्गत इजरायलले दक्षिणी लेबनानका आफूले कब्जा गरेका सबै क्षेत्रहरूबाट आफ्ना सैनिकहरू फिर्ता बोलाउनुपर्नेछ। यसका साथै, लेबनानमा भइरहेका सम्पूर्ण हवाई र सैन्य आक्रमणहरूलाई तत्काल रोक्नुपर्ने सर्त पनि यसमा उल्लेख छ।

यद्यपि, यो कथित सम्झौता र यसका सर्तहरूबारे अमेरिका, इजरायल वा इरानका तर्फबाट आधिकारिक रूपमा पुष्टि हुन भने बाँकी नै छ। इरानी विदेश मन्त्रालयले पनि आफूहरू अहिलेसम्म अन्तिम निष्कर्षमा नपुगेको जनाएको छ। 

यदि यो सम्झौता परिपक्व भएर हस्ताक्षर भएमा यसले विगत केही समयदेखि बन्द रहेको हर्मुज जलमार्गलाई पुनः खुला गर्ने र क्षेत्रमा जारी युद्धलाई विराम दिने अपेक्षा गरिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबीचको युद्ध अन्त्य भएको दाबी गरेका थिए । दुवै पक्षबीच युद्ध रोक्न एउटा अत्यन्तै बलियो समझदारी पत्रमा सहमति भएको उनको दाबी छ । तर, तेहरानले भने हालसम्म कुनै पनि सम्झौतालाई आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन । जर्जियाका लेफ्टिनेन्ट गभर्नर बर्ट जोन्सको समर्थनमा आयोजित एक टेलिर्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भनेका थिए, 'तपाईंहरूले सुन्नुभयो कि नाइँ कुन्नि, तर हामीले आज इरानसँगको युद्ध अन्त्य गरेका छौँ । उनीहरू आणविक हतियार कहिल्यै नबनाउन सहमत भएका छन्, जसमा हामीले जोड दिएका थियौँ र हाम्रो सम्पूर्ण उद्देश्य नै यही थियो । सम्झौताको ९५ प्रतिशत हिस्सा यही नै हो ।'

ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत इरानमाथि गर्ने भनिएका थप सैन्य आक्रमणहरू रद्द गरेको जानकारी दिएका छन् । तर, उनले सम्झौताका विस्तृत सर्तहरू भने खुलाएएका छैनन् । ट्रम्पले यो पूर्ण रूपमा टुङ्गोमा नपुगेसम्म इरानी बन्दरगाहहरूमा आउने र जाने जहाजहरूमाथि अमेरिकी नाकाबन्दी भने जारी रहने स्पष्ट पारेका छन् । 

इरानले अमेरिकी राष्ट्रपतिले सैन्य कारबाही रद्द गरेको कुरालाई स्वीकार गरे पनि तेहरानमा अझै ठूलो मात्रामा अविश्वास र शङ्का व्याप्त छ । इरानले यसअघि नै चेतावनी दिइसकेको छ कि उनीहरूमाथि हुने कुनै पनि आक्रमणको गम्भीर परिणाम हुनेछ र त्यसले सम्झौताको दिशामा भइरहेको प्रगतिलाई भत्काउनेछ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माएल बाघेईले सरकारी समाचार एजेन्सी 'इर्ना'सँग कुरा गर्दै अमेरिका र इरानबीच सम्झौता फाइनल भइसकेको भन्ने रिपोर्टहरू केवल अनुमान मात्र भएको बताए । 'अहिलेसम्म इरानले कुनै पनि सम्झौताको सम्बन्धमा अन्तिम निर्णय गरिसकेको छैन । शुरूदेखि नै वार्ताको स्थिति हाम्रो लागि स्पष्ट थियो र मस्यौदाको ठूलो हिस्सा फाइनल भइसकेको थियो । तर, अमेरिकीहरूले लगातार आफ्नो अडान बदलिरहेका छन् ।'

salt training

कमेन्ट गर्नुहोस्