
काठमाडौं, २५ पुस — तपाईंले कुनै बच्चालाई गल्ली, पार्क वा शपिङ सेन्टरमा टुक्रुक्क बसेर शौच गरेको देख्नुभयो भने के सोच्नुहुन्छ ? चीनमा यस्तो दृश्य सामान्य हो ।
बच्चाहरूलाई हिँड्न डुल्न अप्ठ्यारो नहोस् भनेर चीनका मानिस पारम्परिक कपडा लगाइदिन्छन् । यसलाई कई डाङ कू भनिन्छ ।
यो विशेष किसिमको प्यान्ट हो जसको पछिल्लो भागमा ठूलो प्वाल हुन्छ । आजकल यसको प्रयोग कमै हुन्छ तर यो चलनको अन्त्य भएको छैन ।
विदेशीहरूले यस्तो प्यान्टको अर्थ थाहा पाउँदैनन् । बाहिरबाट आएका मानिसलाई त यो राम्रो बानी लाग्दैन र बच्चाहरूलाई यसले गर्दा समस्या हुन्छ ।
ब्राजिलबाट चीनको बेइजिङ आएका एक वकिलले बीबीसीलाई बताए, ‘गत साता म बेइजिङको एक महंगो शपिङ सेन्टर गएको थिएँ । मैले त्यहाँ एउटा बच्चा टुक्रुक्क बसेर दिसा गरिरहेको देखें । अनि उसकी आमाले दिसा उठाइरहेको देखें । मलाई अचम्म लाग्यो ।’
हेर्दाखेरी यो फोहोरी क्रियाकलाप लागेपनि यसको नोक्सानी मात्र छैन । यसका केही फाइदा पनि छन् ।
चीनमा मानिसहरू यस्तो प्यान्ट लगाउने बच्चाहरू छिट्टै शौचालय जान सिक्ने मान्यता राख्छन् । डाइपर लगाउने बच्चाहरूमा चाहिँ शौचालय जाने बानी ढिलो लाग्छ ।
बच्चाले गलत ठाउँमा दिसा गर्नका लागि बस्दा ठूलाहरूले उनलाई रोक्छन् । चीनमा तीनचार महिनाको उमेरदेखि नै बच्चालाई बाथरूम जान सिकाइन्छ । पश्चिमी देशमा एक डेढ वर्षको उमेरदेखि शौचालय जान सिकाइन्छ ।
चिनियाँ बच्चाहरूको यो कपडा मानिसहरूको ध्यान आफूतिर खिचिरहेको छ । इन्टरनेटमा यसबारेमा कुरा गनएका लागि फोरम बनाइएका छन् ।
कई डाङ कूको लोकप्रियता यति धेरै छ कि चीनका धेरै बजारमा कपडाको पसलमा प्वाल नभएको प्यान्ट पाउन मुश्किल छ ।
प्यान्टको नोक्सानी यो हो : ठाउँठाउँमा घरबाहिरै दिसा गरिरहेको देख्न पाइन्छ । सार्वजनिक स्थानमा फोहोर र गन्ध फैलिएर रोगलाई जन्म दिन्छ । यस मामिलामा शहरभन्दा गाउँको स्थिति खराब छ ।
तर यस्तो प्यान्टको प्रयोगले अनेकौं टन फोहोरको खतरा कम भएको छ । अहिले त युरोपेली मुलुकहरूमा पनि बच्चाहरूलाई कपडाको डाइपर लगाउने सल्लाह दिइँदैछ ।
चिनियाँ चिकित्सकहरू पनि डिस्पोजेबल डाइपरको प्रयोग गर्नु ठीक हुने बताइरहेका छन् । डाइपर छिटो नबदलिएमा रोगको खतरा हुन्छ ।
यसबाहेक डाइपरको प्रयोगलाई स्टेटस सिम्बोलका रूपमा पनि भइरहेको छ ।
बीबीसीबाट