
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेश सभापति पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि नयाँ नेतृत्व निर्वाचनमार्फत चयन हुने भएको हो ।
प्रदेश सभापति पदका लागि रुपन्देहीका शालिकराम घिमिरे, बाँकेका डा. राजकुमार सुबेदी, रुपन्देहीका पूर्व उम्मेदवार गणेश पौडेल, रुपन्देहीकी मञ्जु भुसाल, रुपन्देहीका मधु अर्याल र अर्घाखाँचीका गोपाल घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।
४२ सदस्यीय प्रदेश कार्यसमितिका लागि भने एक सयभन्दा बढी उम्मेदवारी परेको जनाइएको छ । लुम्बिनीका १२ जिल्लाबाट आएका ८ सय ४३ जना प्रदेश प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिए ।
वर्तमान प्रदेश सभापति देवराज पाठक ले भने उम्मेदवारी दर्ता गरेनन् । चार वर्षसम्म संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेकाले पाठकले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरे पनि सहमति जुट्न नसकेपछि उम्मेदवारी नदिएको बताइएको छ ।
दाङमा आयोजित अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै रास्वपाका महामन्त्री भूपदेव शाहले निर्वाचन जितेर सरकारमा पुगे पनि पार्टीलाई अझै संस्थागत र सशक्त बनाउन बाँकी रहेको बताएका थिए ।
उनले आगामी महाधिवेशनबाट सक्षम नेतृत्व चयन भई पार्टी र देशलाई प्रगतितर्फ अघि बढाउने विश्वास व्यक्त गरे । कार्यक्रममा सहमहामन्त्री तथा विपिनकुमार आचार्यले नेतृत्वका लागि प्रतिस्पर्धा स्वाभाविक भए पनि पार्टीलाई सही दिशा दिन नसक्ने नेतृत्वले जिम्मेवारीबाट पछि हट्न सक्नुपर्ने धारणा राखे ।
उनले नेतृत्वको आकांक्षा राख्ने कार्यकर्तालाई धैर्य र संगठन निर्माणमा निरन्तर सक्रिय रहन आग्रह गरे ।