
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सत्तापक्षकै सांसदले विरोध जनाएपछि लुम्बिनी प्रदेशसभाको बैठक अनिश्चित बनेको छ ।
प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी गरी अर्को सूचना नहुँदासम्मका लागि सभा स्थागित भएको जनाएको छ । बुधबार पनि बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगित भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
मंगलबारबाट शुरू भएको बजेटमाथिको छलफलमा बजेट वितरणमा व्यापक विभेद गरिएको, मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा मात्रै योजना केन्द्रित गरेको तथा सांसदहरूले सिफारिस गरेका योजनालाई बेवास्ता गरिएको आरोप लगाउँदै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले मंगलबार प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए ।
बजेट तथा वार्षिक कार्यक्रम (रातो किताब)लाई लिएर सत्ता पक्षकै प्रदेशसभा सदस्यहरू असन्तुष्ट बनेपछि प्रदेशसभामा बजेटमाथिको छलफल प्रभावित हुँदै आएको छ ।
बजेटमाथिको छलफलमा सत्तापक्ष नेपाली कांग्रेस, जनमत पार्टी र जसपा नेपाल तथा प्रतिपक्षी दलहरू नेपाली कम्युनिस्ट पार्टी, राप्रपा र राष्ट्रिय जनमोर्चाका सांसदहरूले बजेट असन्तुलित, नीति तथा कार्यक्रम र बजेटका प्राथमिकता र सिद्धान्तसँग मेल नखाने गरी आएको भन्दै विरोध जनाएका थिए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि असार १ गते ३७ अर्ब ३८ करोड रूपैयाँको वार्षिक बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो ।