०५ साउन २०८३, मंगलबार
लामिछानेको सम्बोधन

चितवनको माटोबाट सुरु भएको 'निलो क्रान्ति' ले महाधिवेशनसँगै नयाँ उचाइ प्राप्त गर्‍यो : रवि लामिछाने

असार १२, २०८३
काठमाडौं
चितवनको माटोबाट सुरु भएको 'निलो क्रान्ति' ले महाधिवेशनसँगै नयाँ उचाइ प्राप्त गर्‍यो : रवि लामिछाने

चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट सभापतिमा पुन: निर्वाचित रवि लामिछानेले चितवनको माटोबाट सुरु भएको 'निलो क्रान्ति' ले नयाँ उचाइ प्राप्त गरेको बताएका छन् । 

शुक्रबार निर्वाचन आयोगका प्रमुख भुवन केसीबाट पद तथा गोपनीयताको शपथ लिएपछि आयोजित समारोहलाई सम्बोधन गर्दै लामिछानेले पार्टी अब केवल भिड मात्र नभई सुसंगठित राजनीतिक शक्तिका रूपमा स्थापित भएको दाबी गरे ।

उनले चार वर्षअघि चितवनबाटै अङ्कुरित भएको अभियानले अहिले वैधानिकताको ऐतिहासिक खुड्किलो पार गरेको उल्लेख गरे । सम्बोधनका क्रममा लामिछानेले विगतमा पार्टी र आफूमाथि लागेका 'अपरिपक्व' भएको आरोपलाई स्वीकार गर्दै अब रास्वपा परिपक्व ढंगले अगाडि बढ्ने प्रतिबद्धता जनाए । 
'हामी नयाँ थियौँ, कतिपय अभ्यासहरूमा कमजोरी भए होलान्, तर अब देशको भविष्यसँग खेलबाड गर्ने छुट हामीलाई छैन,' उनले भने ।
लामिछानेले पार्टीभित्र मौलाउन सक्ने गुटबन्दी र प्यानलको विरोध गरे । रास्वपामा अब कुनै पनि गुट वा उपगुटलाई ठाउँ नहुने भन्दै उनले निर्वाचनका क्रममा देखिएका मतभेदलाई हलभित्रै छाडेर एकजुट हुन कार्यकर्तालाई निर्देशन दिए । रास्वपामा अब एउटै गुट 'घण्टी' र 'निलो क्रान्ति' मात्र रहने उनको जिकिर थियो । गुटबन्दी गर्नेहरूको जरा उखेल्न आफू पछि नहट्ने उनले चेतावनी समेत दिए ।
पार्टीको 'जान्नेलाई छान्ने' नाराबारे प्रस्ट पार्दै लामिछानेले सुरुमा समयको अभावले उपलब्ध मानिसहरू छानिएको तर अब 'जान्ने बनाई छान्ने' र 'नजान्नेलाई विधिबाट हटाउने' पद्धति विकास गरिने बताए ।

 उनले रास्वपाले योग्यता र क्षमतालाई कदर गर्ने तर अनुशासनहीनतालाई नसहने स्पष्ट पारे । अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा उनले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर 'विकास कुटनीति' को अभ्यास गर्ने बताए ।

 छिमेकी देशहरू र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने संकल्प गर्दै उनले नेपालको स्वाभिमानलाई विश्वमा उच्च राख्ने दाबी गरे ।
महाधिवेशनमा खटिएका सुरक्षाकर्मी, संचारकर्मी, स्वयंसेवक र प्रतिनिधिहरूलाई धन्यवाद दिँदै लामिछानेले रास्वपा अब देशको शासन व्यवस्था बदल्ने र सुशासन कायम गर्ने जिम्मेवार शक्तिका रूपमा अगाडि बढ्ने विश्वास दिलाए ।

salt training

कमेन्ट गर्नुहोस्