१४ असार २०८३, आइतबार

भेनेजुएला भूकम्प : स्मार्टफोनबाट पूर्वसूचना आएको प्रयोगकर्ताको दाबी

असार १२, २०८३
काठमाडौं
भेनेजुएला भूकम्प : स्मार्टफोनबाट पूर्वसूचना आएको प्रयोगकर्ताको दाबी

भेनेजुएलामा बुधबारको भूकम्पमा झन्डै ६०० जनाको ज्यान गएको अनुमानित तथ्याङ्क सार्वजनिक भएको छ । भेनेजुएलाका धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले भूकम्प आउनुभन्दा केही क्षणअघि आफ्नो एन्ड्रोइड स्मार्टफोनमा चेतावनी सूचना प्राप्त गरेको बताएका छन् ।

गुगलको ‘एन्ड्रोइड’ र एप्पलको ‘आईओएस’ दुवैमा सरकारबाट भूकम्प, बाढी, पहिरोजस्ता सङ्कटकालीन सूचना देखाउने विकल्प छ ।

लगभग सबै स्मार्टफोनमा ‘एक्सेलरोमिटर’ नामक गतिशील सेन्सर हुन्छ, जसले फोन घुमाउँदा स्क्रिन घुमाउने जस्ता काम गर्छ ।

गुगलले सन् २०२५ जुलाईमा लेखेको ब्लग पोस्टअनुसार, “त्यही सेन्सरले भूकम्पबाट आउने जमिनको कम्पन पनि पत्ता लगाउन सक्छ ।”

एक्सेलरोमिटरले भूकम्पको सुरुवाती छिटो ‘पी’ वेभलाई पहिचान गर्छ र कम्पनको जानकारी गुगलको सर्भरमा पठाउँछ ।

“धेरै रिपोर्टहरूलाई छिटो क्रस–रेफरेन्स गरेर प्रणालीले ‘भूकम्प गइरहेको’ पुष्टि गर्छ र यसको स्थान तथा म्याग्निच्युड अनुमान गर्छ,” गुगलले भनेको छ ।

गुगलका अनुसार यसको उद्देश्य ढिलो र बढी क्षति गर्ने ‘एस’ वेभ मानिससम्म पुग्नुअघि सकेसम्म धेरैलाई चेतावनी दिनु हो ।

गुगलले दुई चरणको चेतावनी प्रदान गर्छ । यसको ‘सावधान (बी अवेयर)’ ले कमजोर कम्पनको चेतावनी दिन्छ भने अत्यधिक शक्तिशाली भूकम्पमा ‘कदम चाल (टेक एक्सन)’ ले पूरै स्क्रिनमा सूचना देखाउँछ र फोन साइलेन्ट मोडमा राखिएको भए पनि ठूलो आवाज बज्छ ।

गुगलले गत वर्ष बताएअनुसार, यस प्रणालीले सन् २०२१ अप्रिलपछि दुई हजारभन्दा बढी सम्भावित खतरनाक भूकम्प पत्ता लगाई सात करोड ९० लाखभन्दा बढी व्यक्तिगत फोनमा चेतावनी पठाएको छ ।

यसले पहिलेको तुलनामा धेरै मानिसलाई पूर्वचेतावनी दिने अवसर दिएको छ, तर कहिलेकाहीँ समस्या पनि आएको छ ।

सन् २०२३ को फेब्रुअरीमा टर्की र सिरियामा भएको विनाशकारी भूकम्पमा झन्डै ६० हजार जनाको मृत्यु हुनुअघि एन्ड्रोइड फोनहरूले चेतावनी दिन सकेका थिएनन् । यसको समाधान खोज्दै गुगलले पछि आफ्नो एल्गोरिदम अपडेट गरेको बताएको छ । कम्पनीले सन् २०२५ फेब्रुअरीमा ब्राजिलका केही एन्ड्रोइड प्रयोगकर्तालाई गलत चेतावनी पठाएकोमा माफी पनि मागेको थियो ।

यो हप्ता भेनेजुएलामा सयौँ मानिसले एक्समा गुगलको प्रशंसा गरेका छन् । केहीले भवनबाट बाहिर निस्कन चेतावनी आएको भन्ने भिडियो पनि सेयर गरेका छन् । यद्यपि यो दावीसहितको भिडियोबारे पुष्टि गर्ने आधारको खोजी भइरहेको छ ।

सरकारी चेतावनीबाहेक एप्पलले आफ्नो वेबसाइटमा अमेरिका र ताइवानका प्रयोगकर्ताले अन्य ‘चेतावनीमूलक यन्त्र’बाट भूकम्पको सूचना पाउन सक्ने बताएको छ ।

समाचार तयार पार्दासम्म एप्पलले यो प्रणाली कसरी काम गर्छ भन्ने प्रश्नको जवाफ दिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्