१५ असार २०८३, सोमबार
मदन भण्डारीको ७५औँ जन्मजयन्ती

परिस्थिति फेरिएको छ, हामी पनि फेरिनुपर्छ, क्रमभंग आवश्यक छ : प्रचण्ड

असार १४, २०८३
काठमाडौं
परिस्थिति फेरिएको छ, हामी पनि फेरिनुपर्छ, क्रमभंग आवश्यक छ : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले उठाउँदै आएको 'क्रमभंग'को अवधारणालाई गलत ढंगले बुझ्ने गरिएको भन्दै बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिअनुसार कम्युनिस्ट आन्दोलन पनि परिवर्तन हुनुपर्ने बताएका छन् ।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको उल्लेख गर्दै परिवर्तन नै प्रकृति र समाज विकासको नियम भएको तर्क गरे। 'मलाई मानिसहरूले विभिन्न कोणबाट हेरेर विभिन्न चित्र बनाउने गरेका छन्, त्यो मलाई थाहा छ। मैले 'क्रमभंग' भन्यो भने अब के उत्पात गर्न लाग्यो भन्ने ठानिन्छ। तर निरन्तरताभित्र क्रमभंग गर्नु प्रकृति र मानव विकासको नियम हो,' उनले भने।

प्रचण्डले पुरानै सोच र कार्यदिशामा अडिग रहँदा कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्ने दाबी गरे। 'हाम्रा धेरै साथीहरू त्यही अवस्थामा बसिरहेका छन्। अहिले पनि नयाँ जनवाद भन्दै बस्नुभयो भने त्यसले कहीँ लाँदैन। परिस्थिति फेरिएको छ, हामी पनि फेरिनुपर्छ,' उनले भने।

आफ्नो राजनीतिक शैलीबारे विभिन्न धारणा बन्ने गरेको उल्लेख गर्दै उनले त्यसलाई स्वाभाविक रूपमा लिने बताए। 'यसलाई तपाईं गतिशीलता ठान्नुहुन्छ, परिवर्तन बुझ्ने नेता ठान्नुहुन्छ भने धन्यवाद। अर्कै रूपमा ठान्नुहुन्छ भने त्यसका लागि पनि धन्यवाद,' उनले भने।

वामपन्थी शक्तिहरूबीच सहकार्य र कार्यगत एकताको पक्षमा आफू उभिएको स्पष्ट पार्दै प्रचण्डले यदि आफू विगतकै धारमा अडिग रहेको भए अहिलेको राजनीतिक बहस नै सम्भव नहुने टिप्पणी गरे। 'अहिले तपाईंहरू फेरि सहकार्य र एकताको कुरा गरिरहनुभएको छ। मैले भनेकै बाटोमा अडिग बसेको भए प्रचण्डपथ नै भइरहन्थ्यो। त्यसो भएको भए आज तपाईं–हाम्रो यो भेट पनि हुने थिएन,' उनले भने।

salt training

कमेन्ट गर्नुहोस्