२८ असार २०८३, आइतबार
सहज बन्दै काठमाडौं भित्रिने पूर्वीनाका

साँगा अन्डरपास- ‘एक्सप्रेस’ स्पिडमा कहिलेबाट चल्छन् गाडी ? [DRONE VIDEO]

असार १६, २०८३
काठमाडौं

पूर्वी नेपालबाट काठमाडौं भित्रिने महत्त्वपूर्ण नाका साँगामा बनिरहेको अन्डरपासको करिब ९५ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । मुख्य संरचना र पहुँचमार्ग निर्माणको काम पूर्ण रूपमा सकिएको छ ।

काठमाडौं उपत्यका र काभ्रे जोड्ने ‘लाइफलाइन’मा अहिले एउटा यस्तो आधुनिक संरचना तयार भएको छ, जसले तपाईंको यात्रालाई ‘एक्सप्रेस स्पिड’ दिनेछ ।

काठमाडौंबाट पूर्वी नेपालतर्फ लाग्दै गर्दा वा उताबाट उपत्यका भित्रिँदै गर्दा साँगाको अप्ठ्यारो सडकले दिएको सास्ती अब इतिहास बन्दैछ ।

अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाकै सबैभन्दा महत्त्वपूर्ण र आकर्षक हिस्सा हो– यो साँगा अन्डरपास । 

यतिबेला साइड रिटेनिङ वाल लगाउने र सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ भने पहिलो चरणको कालोपत्रे त सम्पन्न नै भइसकेको छ ।

यो कुनै सामान्य सडक मात्र होइन, यसको इन्जिनियरिङ र भूगोललाई निकै व्यवस्थित रूपमा डिजाइन गरिएको छ । यसको कूल लम्बाइ १ हजार १ सय १० मिटर रहेको छ । जसमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटरको ‘एप्रोच सडक’ समावेश छ ।

अन्डरपासको मुख्य संरचना १८ मिटर लामो छ, जसको उचाइ ६ मिटर र चौडाइ साढे १० मिटर छ । काठमाडौं र भक्तपुरतर्फतबाट बनेपातर्फ जाने सवारीसाधन यही आधुनिक अन्डरपासको सुलभ मार्ग भएर गुड्नेछन् । उता, बनेपातर्फबाट काठमाडौं भित्रिने गाडीहरूले भने माथिल्लो सडक प्रयोग गर्नेछन् । तर, अहिलेको तत्कालको अवस्था भने अलि फरक छ ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका इन्जिनियर प्रदीप तामाङका अनुसार, सडकको बाँकी काम पूर्ण रूपमा सम्पन्न गर्दा ट्राफिक अस्तव्यस्त नहोस् भनेर अहिले बर्खाको समयमा ‘विशेष व्यवस्था’ गरिएको छ । 

माथिल्लो लेनमा काम गर्दा सुरक्षित र सहज होस् भनेर नै, हाललाई काठमाडौंबाट बाहिरिने र भित्रिने दुवैतर्फका गाडीहरूलाई यही अन्डरपासको दुई लेनबाटै चलाउने तयारी गरिएको छ ।

समग्रमा कुरा गर्दा, १५ दशमलव ८ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनालाई दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम भइरहेको छ । सूर्यविनायकदेखि साँगासम्म ७.५ किलोमिटर र साँगादेखि धुलिखेलसम्म ८.३ किलोमिटरका रूपमा विभाजन गरिएको छ । 

आयोजनाको निर्माण अवधि थप गरेर २०८३ फागुन मसान्तसम्म पुर्‍याइएको छ । दोस्रोपटक म्याद थप भएर काम भइरहेको पहिलो खण्डको तुलनामा साँगादेखि धुलिखेलसम्मको सडक निर्माणको काम निकै द्रुत गतिमा अगाडि बढेको छ ।

इन्जिनियर तामाङका अनुसार समग्र आयोजनाको भौतिक प्रगति नै ९५ प्रतिशतको हाराहारीमा पुगिसकेको छ र यो वर्षभित्रै सडकको काम पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य छ ।

साँगा अन्डरपास निर्माणसँगै अरनिको राजमार्गमा यात्रा गर्ने आम सर्वसाधारणको यात्रा अब सुरक्षित, छिटो र निकै आरामदायी बन्ने निश्चित छ । यो पूर्वाधार काठमाडौं उपत्यका र पूर्वी नेपाल जोड्ने यातायात व्यवस्थापनमा एउटा महत्त्वपूर्ण ‘कोसेढुङ्गा’ सावित हुनेछ ।

भिडियो सामग्री :

 

salt training

कमेन्ट गर्नुहोस्