२८ असार २०८३, आइतबार
२५० औं स्वतन्त्रता दिवस

नेसनल मलमा ट्रम्पको सम्बोधन- हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन

असार २१, २०८३
काठमाडौं
नेसनल मलमा ट्रम्पको सम्बोधन- हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधीका कारण केही घण्टा ढिलो भएपछि शनिबार राति वासिङ्टन डीसीस्थित नेसनल मलमा आयोजित अमेरिकाको २५० औं स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गरेका छन् ।

मौसमका कारण केही समयका लागि कार्यक्रम स्थगित गरिए पनि ट्रम्पले राति ११:१५ बजे (स्थानीय समय) मञ्चमा पुगेर चुनावी सभाको शैलीमा सम्बोधन गरेका थिए । उनले आवश्यक परे अझै लामो समय पर्खन पनि तयार रहेको भन्दै थपे,  ‘हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन ।’ 

समारोह शुरू हुनुअघि आएको आँधीका कारण अधिकारीहरूले वासिङ्टन स्मारक नजिक जम्मा भएका सहभागीलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका थिए । 

दर्शकहरूलाई केही घण्टासम्म नजिकैका सङ्ग्रहालय र सरकारी भवनमा आश्रय लिन लगाइएको थियो । मौसममा सुधार आएपछि उनीहरूलाई पुनः कार्यक्रमस्थलमा प्रवेश गर्न दिइएको थियो ।

कार्यक्रममा सहभागी हुन सर्वसाधारणले कडा सुरक्षा जाँच र ३९ डिग्री सेल्सियससम्म पुगेको अत्यधिक गर्मीका बीच घण्टौं लाइनमा बस्नुपरेको थियो । गर्मीका कारण वासिङ्टन क्षेत्रमा तय गरिएका केही परेड तथा अन्य कार्यक्रमसमेत रद्द भएका थिए ।

दक्षिण डकोटाबाट आएका ६० वर्षीय सफ्टवेयर इन्जिनियर ग्लेन सोलान्डरले आफूले यस्ता असहज अवस्था स्वीकार गरेरै कार्यक्रममा आएको प्रतिक्रिया दिए ।

यसैबीच, श्वेत राष्ट्रवादी समूह ‘प्याट्रियट फ्रन्ट’ पनि कार्यक्रममा पुगेको थियो । उक्त समूहले सामाजिक सञ्जालमार्फत राजधानी पुगेको जानकारी दिएको थियो । स्थानीय प्रहरीले भने उनीहरूको उपस्थितिका बाबजुद कुनै हिंसात्मक घटना नभएको जनाएको छ ।

यसअघि अमेरिकी राष्ट्रपतिहरूले जुलाई ४ को समारोहमा प्रत्यक्ष उपस्थित भएर राजनीतिक शैलीमा सम्बोधन गर्ने परम्परा कमै रहेको भए पनि ट्रम्पले औपचारिक राष्ट्रिय समारोह र चुनावी अभियानबीचको सीमालाई थप धमिलो बनाएको टिप्पणी गरिएको छ ।

ट्रम्प प्रशासनसँग आबद्ध फ्रिडम २५० समूहले आयोजना गरेको ‘ग्रेट अमेरिकन स्टेट फेयर’ का लागि करिब २.४ किलोमिटर लामो नेसनल मलको ठूलो भाग घेराबन्दी गरिएको छ । मेलामा फेरिस ह्विल, विभिन्न परम्परावादी समूहका प्रदर्शनी तथा रक्षा उद्योगसम्बन्धी स्टलहरू राखिएका छन् ।

आयोजकका अनुसार मेलाको उद्देश्य अमेरिकालाई ‘पृथ्वीको सबैभन्दा महान् राष्ट्र’ बनाउने नागरिक र आविष्कारहरूको प्रदर्शन गर्नु हो ।

तर, डेमोक्रेटिक पार्टी नेतृत्व रहेका केही राज्यहरूले कार्यक्रममा प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेका छन् भने राजनीतिक पक्षपातको चिन्ता व्यक्त गर्दै केही कलाकारले सहभागिता रद्द गरेका छन् ।

स्मिथसोनियन सङ्ग्रहालयका अधिकारी फ्र्याङ्क डिजियोभिनका अनुसार पछिल्ला दिनहरूमा कार्यक्रममा सहभागीको सङ्ख्या बढेसँगै सङ्ग्रहालयका पसल र रेस्टुरेन्टमा करिब कीर्तिमानी व्यापार भएको छ ।

कार्यक्रमअन्तर्गत धार्मिक सभा, खेलकुद प्रतियोगिता तथा अन्य गतिविधिसमेत आयोजना गरिएका छन् । ‘फ्रिडम ट्रक्स’ नामक प्रदर्शनीलाई लिएर पनि आलोचना भएको छ । आलोचकहरूले यसले अमेरिकी इतिहासलाई अत्यधिक धार्मिक दृष्टिकोणबाट प्रस्तुत गरेको तथा दासप्रथा र जातीय विभेदजस्ता विषयलाई ओझेलमा पारेको आरोप लगाएका छन् ।

२५० औं वार्षिकोत्सवको तयारीका क्रममा ट्रम्प प्रशासनले राजधानीका फोहरा, सालिकलगायत संरचनाको मर्मत गरे पनि १ करोड ५० लाख डलर लागतको लिंकन स्मारकअगाडिको ‘रिफ्लेक्टिङ पूल’ पुनर्निर्माण कार्य भने विभिन्न समस्याले प्रभावित भएको जनाइएको छ । सुरक्षाका लागि अहिले त्यहाँ सुरक्षाकर्मी र क्यामेरा परिचालन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्