
नवलपरासी (बसुप)को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीविरुद्ध ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ ८४ पैसा बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार उनले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा उनी गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएको मिति २०७४ असार २० गतेदेखि २०७९ असार २८ गतेसम्म ३ करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ आम्दानी गरेको देखिएको थियो ।
तर उक्त अवधिमा उनको खर्च ६ करोड ९७ लाख ८१ हजार ७८८ रुपैयाँ भएको पाइएको आयोगले जनाएको छ ।
जाँच अवधिमा उनको आम्दानी र खर्च अमिल्दो तथा अस्वाभाविक देखिएकाले गुप्ताका साथै उनका बुवा वंशराज गुप्ता, आमा धानमती तेली, श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्तालाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगले उनलाई कैद, बिगो बमोजिम जरिवाना र गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफतको मागदाबी गरेको छ ।
हेर्नुहोस्, अभियोग पत्र :