०५ साउन २०८३, मंगलबार
न्यायालयमा व्यापक सुधारको तयारी

अदालतमा एआईको प्रयोग, न्याय प्रणालीको नयाँ इकोसिस्टम तयार हुँदै

असार २२, २०८३
काठमाडौं
अदालतमा एआईको प्रयोग, न्याय प्रणालीको नयाँ इकोसिस्टम तयार हुँदै

अदालतमा अब न्यायिक कामकारबाहीका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग हुने भएको छ  । वर्षौंदेखि ढिलासुस्तीको पर्याय बनेका नेपाली अदालतमा अब एआईको प्रयोग हुने भएको हो । 

नेपालको न्यायपालिकाले इतिहासमै पहिलो पटक ‘डिजिटल फर्स्ट’को नयाँ मार्गचित्र कोर्दै भविष्यको अदालत कस्तो हुनुपर्छ भन्ने नयाँ दिशानिर्देश तयार पारिएको  छ । सर्वोच्च अदालतले असार १० गतेको पूर्ण बैठकबाट स्वीकृत गरेको नयाँ सूचना तथा सञ्चार प्रविधि नीतिमा उक्त कुरा उल्लेख छ  ।

सर्वोच्च अदालतले न्याय प्रणालीमा एआईको औपचारिक प्रवेश गराउँदै परम्परागत अदालती कार्यशैलीमा एउटा ठूलो क्रमभङ्गता ल्याउने संकेत गरेको छ ।

‘डिजिटल फर्स्ट’ र सिंगो न्याय प्रणालीको नयाँ इकोसिस्टम

विगतमा प्रविधिलाई केवल ऐच्छिक वा वैकल्पिक माध्यमका रूपमा लिइन्थ्यो । तर सर्वोच्चले तयार पारेको नयाँ नीतिले एउटा ठूलो अवधारणागत परिवर्तन ल्याउँदै ‘डिजिटल फर्स्ट’ दृष्टिकोण अङ्गीकार गरेको छ  । 

यसको अर्थ अब उपरान्त अदालतको व्यवस्थापन, सेवा प्रवाह वा कार्यप्रणाली सुधार गर्दा पहिलो विकल्पका रूपमा डिजिटल माध्यमलाई नै रोजिनेछ ।

यसका साथै, न्याय सम्पादनमा अदालत मात्र डिजिटल भएर पुग्दैन भन्ने सत्यलाई स्वीकार गर्दै यसले ‘समग्र न्याय प्रणाली’को अवधारणा अघि सारेको छ  । यस अन्तर्गत अदालत, नेपाल प्रहरी, महान्यायाधिवक्ता कार्यालय र कारागार विभाग जस्ता न्याय सम्पादनमा प्रत्यक्ष जोडिएका सबै सरोकारवाला निकायलाई एउटै डिजिटल इकोसिस्टमभित्र समेटेर प्रविधिको विकास गरिनेछ ।

न्यायिक काममा एआईको औपचारिक प्रवेश

नयाँ नीतिको सबैभन्दा रोचक र धेरै चर्चामा रहेको विषय कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग हो । अदालतले न्यायिक कार्यप्रक्रियामा एआईको सम्भावित क्षेत्र पहिचान गरी लागू गर्ने रणनीति लिएको छ ।

नीति अनुसार न्यायिक कामकारबाही सम्बन्धी मस्यौदा लेखन, अध्ययन र कानूनी नजिरहरूको अनुसन्धानमा सहयोग पुग्ने गरी एआईमा आधारित प्रणाली विकास गरिनेछ  । तर, यसै व्यवस्थाले प्रविधिको चरम प्रयोगमाथि एउटा बलियो लक्ष्मण रेखा पनि कोरेको छ । नीतिले स्पष्ट रूपमा भनेको छ- प्रत्यक्ष रूपमा न्यायिक निर्णयमा दखल पुग्ने गरी कृत्रिम बुद्धिमत्ताको प्रयोग गरिने छैन । यसको अर्थ एआईले न्यायाधीशलाई सहयोगीको रूपमा काम त गर्नेछ, तर मुद्दाको अन्तिम फैसला वा न्यायिक निर्णय सुनाउने अधिकार केवल मानव अर्थात् न्यायाधीशसँग मात्र सुरक्षित रहनेछ ।

तेस्रो पक्षले विकास गरेका एआई प्रविधिको विश्वसनीयता, पारदर्शिता र पूर्वाग्रहरहितता जाँचेर मात्र प्रयोग गर्ने नीति लिइने उल्लेख छ । यसका लागि मुद्दा व्यवस्थापन प्रणालीमा प्रविष्ट गरिने सबै विवरण तथा कागजात एआईले सजिलै बुझ्न र खोज्न सक्ने गरी ‘मेसिनले पढ्न सक्ने’ ढाँचामा डेटाबेसमा राखिनेछ ।

सेवाग्राहीलाई राहत : ई-न्याय पोर्टल

यो नीतिले सर्वसाधारण नागरिकलाई अदालती सास्तीबाट जोगाउन स्पष्ट कार्यनीति अघि सारेको छ  । अदालतले अब एकीकृत र साझा ‘ई-न्याय पोर्टल’ निर्माण गर्नेछ  । 

यस पोर्टलको माध्यमबाट सेवाग्राहीले अनलाइनबाटै मुद्दा दर्ता गर्न, तारिख लिन, अनलाइन भुक्तानी गर्न र आफ्नो मुद्दाको दैनिक अवस्था घरमै बसेर मोबाइलबाट हेर्न सक्नेछन् ।

अदालतले ‘एकपटक मात्र लिइने सिद्धान्त’ अंगीकार गरेको छ । यसको अर्थ, सेवाग्राहीको व्यक्तिगत विवरण वा बायोमेट्रिक विवरण प्रणालीमा एक पटक प्रविष्ट भइसकेपछि फेरि दोहोर्‍याएर मागिने छैन । साथै, देशको जुनसुकै अदालतमा रहेको मुद्दाको मिसिलको प्रमाणित नक्कल लिन त्यहीँकै अदालत पुग्नुनपर्ने गरी ‘ई-कपि सिस्टम’ बनाइनेछ । सेवाग्राहीले जुनसुकै जिल्ला अदालतको काउन्टरमा गएर अर्को जिल्लाको मुद्दाको मिसिलको नक्कल निकाल्न सक्नेछन् ।

भर्चुअल सुनुवाइ, कोर्ट रुम प्रविधि र कारागारबाटै बहसमा सहभागिता

भर्चुअल सुनुवाइ (अनलाइन बहस) केवल देखावटी नहोस् भन्नका लागि नीतिमा निकै परिपक्व व्यवस्था गरिएको छ । 

अनलाइन बहस हुँदा पनि विद्युतीय प्रमाणहरूको प्रस्तुति, सहज संवाद र बहस गर्ने व्यक्तिहरूको शारीरिक हाउभाउको सहज अनुगमन गर्न मिल्ने गरी भौतिक बहस सरहकै अनुभूति दिने आधुनिक पूर्वाधारको व्यवस्था मिलाइने उल्लेख छ । यसका लागि इजलासहरूमा आवश्यकता अनुसार कोर्ट रुम प्रविधि जडान गरिने नीतिमा उल्लेख छ ।

यस्तै, विकट स्थानमा रहेका साक्षी वा विशेषज्ञहरूलाई अदालतमा उपस्थित गराउन लाग्ने समय र खर्च बचाउन विशेषज्ञको बकपत्र र साक्षी परीक्षण भिडियो कन्फरेन्समार्फत् गर्ने व्यवस्था मिलाइनेछ । 

साथै, कारागारमा रहेका कैदीबन्दीहरूलाई सुरक्षाको जोखिम उठाएर अदालत ल्याइराख्नुनपर्ने गरी जेलबाटै भिडियो संवादमार्फत सुनुवाइ प्रक्रियामा सहभागी गराइने विषय पनि नयाँ नीतिमा समेटिएको छ । 

सानातिना दाबी भएका मुद्दाहरूका लागि बिदाको दिन वा कार्यालय समयभन्दा बाहिर पनि अनलाइनबाटै सुनुवाइ गर्न मिल्ने गरी अनलाइन अदालतको अवधारणा कार्यान्वयन गर्ने भनिएको छ ।

डाटा चुहावट, अनधिकृत पहुँच र सेवा अवरोधको जोखिमलाई रोक्न अदालतले विश्वव्यापी रूपमा मान्यता प्राप्त आईएसओ/आईईसी २७००१ मापदण्ड अनुसारको सुरक्षा प्रणाली स्थापना गर्नेछ । प्रणालीको नियमित सुरक्षा जाँच्न भल्नराबिलिटी एसेसमेन्ट एन्ड पेनिट्रेसन टेस्टिङ (भीएपीटी) गरिनेछ ।

अदालतमा प्रयोग हुने सबै सफ्टवेयरहरू कि त पूर्ण रूपमा लाइसेन्स प्राप्त हुनुपर्नेछ, कि त आधिकारिक रूपमा स्वीकृत गरिएका खुला-स्रोत प्रविधिमा मात्र आधारित हुनुपर्नेछ । यस्तै, सफ्टवेयर बनाइदिने कम्पनी बन्द भएपछि वा विवाद भएपछि प्रणाली ठप्प हुने सरकारी समस्या रोक्न अदालतले आफ्नो सफ्टवेयरको ‘सोर्स कोड’लाई सुरक्षित भण्डारमा राख्ने महत्त्वपूर्ण नीति लिएको छ ।

बजेटको संकट, झन्झटिलो खरिद 

यति राम्रा योजना अघि सारेको नीतिमा यसको कार्यान्वयन पक्षमा भने ठूला तगाराहरू स्पष्ट रूपमा देखाइएका छन् ।

अदालतमा प्रविधिको ५ वर्षको बजेट हेर्दा औसत वार्षिक जम्मा १५ करोड रूपैयाँ मात्र विनियोजन भएको देखिन्छ  । यसै बजेटबाट कर्मचारीको तलब भत्ता, प्रणाली सञ्चालन र पूर्वाधार बनाउनुपर्ने हुँदा यी ठूला महत्त्वाकाङ्क्षी योजना पूरा गर्न निकै चुनौतीपूर्ण देखिन्छ ।
२०८२ साल भाद्र २३ र २४ गते को जेनजी आन्दोलनमा आन्दोलनकारीहरूले आगजनी तथा लुटपाट गर्दा सर्वोच्च अदालतको आफ्नै सूचना प्रविधि पूर्वाधार पूर्ण रूपमा नष्ट भएको दुर्घटनालाई नीतिले गम्भीरतापूर्वक लिएको छ । 

हाल अदालतको आफ्नै डाटा सेन्टर समेत नभएको अवस्थामा यो नयाँ नीतिले आगामी दिनमा केन्द्रीय डाटा सेन्टरको सुदृढीकरण गर्ने र नेटवर्कमा एसडी-वान जस्ता आधुनिक प्रविधिको प्रयोग गर्ने नीतिमा उल्लेख गरिएको छ ।

सरकारी सेवामा न्यून सेवा सुविधाका कारण आईटी कर्मचारी टिक्दैनन् (पलायन हुने दर उच्च छ) । यसलाई सम्बोधन गर्न नीतिले कार्यसम्पादनमा आधारित तलब लागू गर्ने रणनीति लिएको छ ।

अदालतका पुराना जनशक्तिमा नयाँ प्रविधि सिक्न जाँगर नगर्ने र प्रविधिप्रति अविश्वास गर्ने प्रवृत्ति छ । यसलाई सुधार्न न्यायाधीश र व्यवस्थापकहरूलाई विशेष प्रविधि नेतृत्व तालिममा सहभागी गराइनेछ र उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरिनेछ ।

प्रविधिको पहुँच नभएका ग्रामीण भेगका सर्वसाधारणका लागि संक्रमणकालीन चरणमा अनलाइन र भौतिक दुवै सेवा सञ्चालन गर्ने गरी मिश्रित स्वरूप (हाइब्रिड मोडल) को सेवा प्रवाह जारी राखिने उल्लेख छ । साथै, पुराना कम्प्युटर र उपकरण विसर्जन गर्न वातावरणमैत्री ई-वेस्ट व्यवस्थापन सम्बन्धी निर्देशिका कार्यान्वयन गरिने उल्लेख छ ।

प्रविधिको द्रुत विकाससँगै अदालतलाई पनि ‘डिजिटल फर्स्ट’को नयाँ ढाँचामा रूपान्तरण गर्न यो नीति अत्यन्तै परिपक्व कानूनी जग मानिएको छ  । प्रविधिको प्रयोगलाई व्यवस्थित गर्न अदालतभित्र एउटा स्थायी ‘सूचना प्रविधि सरोकार समन्वय समिति’ क्रियाशील रहने नीतिमा उल्लेख छ । सर्वोच्च अदालतका अनुसार प्रविधिमा आउने नयाँ परिवर्तनलाई समेट्न यो नीतिलाई प्रत्येक ३ वर्षमा पुनरावलोकन र आवश्यक संशोधन गरिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्