
लुम्बिनी र भारतको वाराणसीबीच पर्यटकलाई प्रबर्द्धन गर्दै दुई देशका पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार भएको छ । लुम्बिनी होटल एसोसिएसन नेपाल र वाराणसी टुरिजम गिल्डबीच मंगलबार पाँच बुँदे समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।
लुम्बिनीमा सम्पन्न सम्झौतामा लुम्बिनी होटल एसोसिएसन नेपालका अध्यक्ष लीलामणि शर्मा र वाराणसी टुरिजम गिल्डका अध्यक्ष सुभाष कपुरले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार लुम्बिनी आउने भारतीय तीर्थयात्री तथा पर्यटकलाई कम्तीमा एक रात लुम्बिनीमै बस्न प्रोत्साहन गरिनेछ । यसले लुम्बिनीको पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा गरिएको लुम्बिनी होटल एसोसिएसन नेपालका अध्यक्ष शर्माले बताए ।
यस्तै, नेपाल–भारत सीमास्थित ककरहवा नाकालाई लुम्बिनी प्रवेशको महत्त्वपूर्ण पर्यटकीय द्वारका रूपमा विकास गर्न दुवै पक्षले आ–आफना संघीय, प्रादेशिक तथा स्थानीय सरकारसँग समन्वय र पहल गर्ने सहमति भएको छ ।
सम्झौतामा करिब ४०/५० वर्षअघि सञ्चालनमा रहेको लुम्बिनी–वाराणसी सिधा बस सेवा पुन: सञ्चालनका लागि संयुक्त पहल गर्ने, लुम्बिनीलाई भारतका प्रमुख बौद्ध तीर्थस्थलसँग जोड्ने यातायात सेवा विस्तारको सम्भावनासमेत अध्ययन गरिने, दुवै संस्थाले नेपालका बौद्ध तीर्थस्थल र भारतका हिन्दू तथा बौद्ध तीर्थस्थललाई समेटेर संयुक्त पर्यटन प्याकेज विकास तथा प्रवर्द्धन गर्ने सहमति गरेका छन् । यसबाट दुवै देशबीच धार्मिक पर्यटनको आकर्षण बढ्ने विश्वास गरिएको छ ।
सञ्चारमाध्यम, सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्व तथा पर्यटनसँग सम्बन्धित संघ–संस्थाका प्रतिनिधिबीच नियमित भ्रमण आदान–प्रदान गर्ने र भ्रमणका क्रममा आयोजक पक्षले आवश्यक आतिथ्य उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।
दुवै संस्थाले यो सम्झौताले नेपाल–भारतबीच धार्मिक, सांस्कृतिक तथा पर्यटन सहकार्यलाई थप मजबुत बनाउँदै लुम्बिनी र वाराणसीलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
वाराणसी टुरिजम गिल्डका अध्यक्ष कपुरले सम्झौताले पर्यटन पर्यटन प्रबर्द्धनमा नयाँ ढोका खोलेको बताए ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले स्थानीय पर्यटन प्रबर्द्धनमा गर्नसक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।