१२ असार २०८३, शुक्रबार

राजधानी नतोकि प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी, भोलि मन्त्रिपरिषद् बैठक

राजधानी नतोकि प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी, भोलि मन्त्रिपरिषद् बैठक

काठमाडौं २७ पुस– सरकारले प्रदेशको अस्थायी राजधानी नतोकी प्रदेश प्रमुखहरुको नियुक्ति गर्ने तयारी गरेको छ । शुक्रवार प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी छ । त्यसका लागि शुक्रवार मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको कृषि विकास मन्त्री रामकृष्ण यादवले लोकान्तरलाई जानकारी दिए ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकारले प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी गरेको बताएका छन् । 

पोखरामा आयोजित एक कार्यक्रममा कानून तथा संसदीय व्यबस्था मन्त्री यज्ञबहादुर थापाले सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको बताए । 

‘प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन’ मन्त्री थापाले भने, ‘प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ मत संख्याले मात्रै तोक्न सक्छ ।’ उनल प्रदेश सभाको कार्य सञ्चालन गर्ने स्थान भने तोकिने बताए । 
राष्ट्रपतिले प्रदेश प्रमुखसँगै प्रदेशको राजधानी तोक्नसुझाव दिएपनि सरकारले राजधानीको झमेलामा नलाग्ने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमवार भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले जनतालाई सुगम हुनेगरी प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई आग्रह गरेकी थिइन् । 

सरकारको सिफारिशमा राष्ट्रतिले प्रदेश प्रमुख नियुक्त गर्ने संविधानको धारा १ सय ६३ मा व्यबस्था गरिएको छ ।   

प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नु अघि राष्ट्रपति समक्ष शपथ लिने छन् । बिहीवार बसेको सर्बदलीय बैठकमा वामपन्थी गठबन्धनले प्रदेश प्रमूख नियुक्तीका लागि ‘मौन समर्थन’ जनाएको थियो । 

प्रदेशको अस्थायी राजधानी या मुकाम तोक्दा विबाद चर्किने भएपछि सरकारले काठमाडौमै प्रदेश सभाका सांसदहरुको शपथ गराउने गरी प्रदेश प्रमुख नियुक्त गर्न लागेको हो । 

निर्वाचन आयोगले प्रदेश सभाको समानुपातिक तर्फको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको समयमा सरकारले प्रदेश प्रमुख तोक्ने तयारी गरेको सरकारका अर्का एक मन्त्रीले बताए । निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको २० दिनभित्र प्रदेश सभाको बैठक बस्नुपर्ने संविधानको व्यबस्था छ । 

प्रदेशको अस्थायी राजधानी तोक्दा कतिपय ठाउमा जनआक्रोश बढ्ने भएकोले सरकारले त्यसको अपजस बामपन्थी सरकारको टाउकोमा हाल्न खोजेको छ । एमालेले भने प्रदेश प्रमुखको नियुक्तिसँगै प्रदेशको अस्थायी राजधानी पनि तोक्न माग गरेको छ । 

सरकारले पहिलै अस्थायी राजधानी नतोकेमा प्रदेश सभाको पहिलो बैठकले प्रदेशको राजधानी तोक्ने छ । यसअघि सरकारले विराटनगर, जनकपुर, भक्तपुर, पोखरा, दाङ, सुर्खेत र धनगढीलाई अस्थायी मुकाम तोक्ने तयारी गरेको सूचना चुहिएपछि कतिपय ठाउमा विरोध प्रर्दर्शन शुरु भएको थियो । 

प्रदेशको राजधानी मागगर्दै धनकुट्टा र डोटीमा आन्दोलन भएका छन भने बुटवलमा कांग्रेसकै अगुवाइमा विरोध प्रदर्शन भएको थियो । सरकारले प्रदेश प्रमुख तोक्ने तयारी गरेको समयमा माओवादीका मन्त्रीहरुले राजीनामाको तयारी गरेका छन् । 

प्रदेश प्रमुखका जसको चर्चा छ

सरकारले समाजका ख्याती प्राप्त व्यक्तिलाई प्रदेश प्रमुख तोक्ने सरकारको तयारी छ । भारतमा पनि समाजमा प्रतिष्ठित व्यक्तिलाई ‘गभर्नर’ तोक्ने व्यबस्था छ । 

नेपाली कांग्रेस स्रोतका अनुसार प्रदेश प्रमुखका लागि पूर्वप्रधान सेनापति रुक्माङगत कटवालदेखि म्यागासेसे पुरस्कार विजेता महाविर पुन सम्मको चर्चा छ । सात प्रदेश मध्ये कम्तिमा दुइ जना महिला नियुक्त गर्ने सरकारको तयारी छ । 

सिएनएन हिरो माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको नाम पनि प्रदेश प्रमुखको रुपमा चर्चा छ । पूर्वन्यायाधीश, नेपाल सरकारका पूर्वसचिव, त्रिभुवन र काठमाडौं विश्वविद्यालयका पूर्व कुलपति सम्मको नाम चर्चामा रहेको छ । 

सरकारले एमालेसँग दुइ र माओवादी केन्द्रसँग एकजनाको नाम मागेको स्रोतको दावी छ । ययअघि वामपन्थी दलहरुले प्रदेश प्रमुखको नियुक्ति एकलौटी गरेमा पछि उल्टाउने चेतावनी दिएका थिए । 

सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल तथा राम, नगिना सिंहको नाम समेत चर्चामा छ । प्रदेश प्रमुखको नियुक्ति भएपछि प्रदेश सभाको अन्तिम नतिजा बुझाउन सझिलो हुने निर्वाचन आयोगले बताउँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्