०१ साउन २०८३, शुक्रबार
सरकारी दाबी भर्सेस यथार्थ

पासपोर्ट पाउन 'महाभारत' : हल्ला होम डेलिभरीको, वास्तविकता १२ हजार तिर्दा पनि झट्ट पाइँदैन!

असार ३२, २०८३
काठमाडौं

सरकार परिवर्तन भएसँगै प्रशासनिक सुधारका ठूला कुरा गरिए पनि राहदानी विभागको पुरानो कार्यशैलीमा भने कुनै परिवर्तन आउन सकेको छैन । परराष्ट्र मन्त्री शिशिर खनालले गत असार २९ गते जर्मन प्रविधिमा आधारित नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्यको तामझामका साथ शुभारम्भ गरेका थिए । नयाँ प्रविधि भित्रिएपछि सेवा प्रवाह चुस्त र दुरुस्त हुने अपेक्षा गरिए पनि ठीकविपरीत सेवाग्राहीहरूले झनै चरम सास्ती खेप्नुपरिरहेको छ ।

सरकारले ४८ घण्टा अर्थात् दुई दिनभित्रै राहदानी उपलब्ध गराउने दाबी गरे तापनि व्यवहारमा भने सेवाग्राहीले १० देखि १३ दिनसम्म भौँतारिँदा समेत पासपोर्ट हात पार्न सकिरहेका छैनन् । जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाउँदा समय लाग्ने ठानेर छिटो पाइने आशामा १२ हजार रुपैयाँको महँगो शुल्क तिरेर काठमाडौँ आएका विभिन्न जिल्लाका सर्वसाधारण यतिबेला निकै आक्रोशित बनेका छन् ।

सेवाग्राहीले हप्तौंसम्म पासपोर्ट नपाउँदा उनीहरूले विभागका कर्मचारी र प्राविधिक सर्भरको लापरबाहीप्रति तीव्र असन्तुष्टि पोखेका छन् ।

२ दिनभित्रै राहदानी दिने भनिएको ठाउँमा हप्तौंसम्म कुर्नुपर्ने बाध्यता त छँदैछ, त्यसमाथि विभागका कर्मचारीहरूको अहङ्कारयुक्त व्यवहार र छिनछिनमा डाउन हुने सर्भरका कारण सेवाग्राहीहरू मानसिक र आर्थिक रूपमा प्रताडित भएका छन् । कतिपय ढिलाइ सेवाग्राही स्वयंले फारम भर्दा हुने सामान्य त्रुटिका कारण भए पनि अधिकांश समस्या भने विभागको फितलो प्राविधिक तयारीले निम्त्याएको हो ।

रोल्पाबाट आकस्मिक राहदानीका लागि आएका वीरबहादुर बुढा मगर आवेदन दिएको ९ दिन बितिसक्दा पनि रित्तो हात बस्नु परेको पीडा सुनाउँछन् ।

कर्मचारीहरूले यो कोठा र त्यो कोठाभन्दै एउटा टेबलबाट अर्को टेबलमा कुदाउने गरेको र होटलमा बस्दाबस्दै आफूसँग भएको खर्च सकिन लागेको उनको भनाइ छ ।

त्यस्तै, म्याग्दी नगई काठमाडौंबाटै छिटो काम बन्ने आसमा आमा र भाइको राहदानी बनाउन आएकी रेविना थापाले प्रतिव्यक्ति १२ हजारका दरले २४ हजार रुपैयाँ बुझाउँदा पनि १३ दिनपछि मात्रै राहदानी हात पारेको दुखेसो पोखिन् । विभागमा सामान्य सोधपुछ गर्दा समेत कर्मचारीहरूले शिष्ट व्यवहार नगर्ने र नागरिकका समस्यालाई वास्तै नगर्ने प्रवृत्ति रहेको उनले बताइन् ।

 प्रशासनिक ढिलासुस्तीको मार कतिपयका लागि विदेश यात्रा नै रोकिने कारण बनेको छ । बुटवलबाट आएका सन्तोष बिकले शुक्रबारदेखि विभाग धाइरहे पनि सर्भर नखुलेका कारण ठूलो सास्ती खेप्नुपर्‍यो ।

त्यसमाथि राष्ट्रिय परिचयपत्रको स्क्यान नहुँदा विवरणमा त्रुटि देखियो र यही प्राविधिक अलमलका कारण उनको पूर्वनिर्धारित हवाई टिकट नै रद्द हुन पुग्यो ।

खोटाङबाट राहदानी नवीकरणका लागि आएका उमेश बिकको अवस्था पनि उस्तै निराशाजनक छ । एक हप्ताभन्दा बढी समयदेखि विभागको चक्कर काटिरहेका उनले कर्मचारीले कोठा सार्दै अल्मल्याउने गरेको र सर्भर डाउनको समस्याले झनै सास्ती थपिदिएको बताए ।

राहदानी विभागका निर्देशक तथा प्रवक्ता दीपक बञ्जाडेले वर्तमान समस्या र नयाँ प्रणालीबारे स्पष्टीकरण दिएका छन् । प्रवक्ता बञ्जाडेले नियमानुसार फारम बुझाएको ४८ घण्टाभित्रै राहदानी उपलब्ध गराउनुपर्ने भए तापनि नयाँ प्रविधि भएकाले प्रणाली पूर्ण रूपमा अभ्यस्त हुन केही समय लाग्ने स्वीकार गरे । कतिपय सेवाग्राहीको विवरणमा डाटा एरर हुने भएकाले पनि थप समय लागेको उनको तर्क छ ।

तर, विभागले प्रविधिको संक्रमणकालीन समय व्यवस्थापन गर्न नसक्दा र कर्मचारीको व्यवहार नसच्चिँदा सर्वसाधारण नागरिकले भने चर्को मूल्य तिरेर पनि सास्ती भोगिरहनु परेको छ ।

उनका अनुसार नयाँ कम्पनीसँगको सम्झौता बमोजिम सुरक्षित बायोमेट्रिक डाटासहितको आधुनिक ईपासपोर्ट प्रणाली लागू गरिएको हो । यो नयाँ प्रविधि अत्यन्तै सुरक्षित रहेको बञ्जाडे बताउँछन् ।

उनले नयाँ प्रणालीमा कुनै पनि प्रकारको केरमेट गर्न नमिल्ने र राहदानीको भित्री पानाहरूमा ५० प्रतिशतसम्म कटनको प्रयोग गरिएकाले पानीले सजिलै नभिज्ने तथा लामो समयसम्म टिकाउ हुने दाबी गरे ।

उनका अनुसार सुरक्षालाई थप मजबुत बनाउन यसमा थ्रीडी इमेज र राष्ट्रिय परिचयपत्र नम्बरलाई छामेरै थाहा पाउन सकिने गरी फिचर समेत समावेश गरिएको छ ।

नयाँ प्रणालीले काम गर्न केही समय लाग्ने गरेकाले सेवाग्राहीले समस्या भोगेको उनले बताए ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्