काठमाडौं, ११ माघ– स्थानीय लोकबाजा र लोकसंस्कृतिको जर्गेना गर्ने उदेश्यले ललितपुरको खोकनास्थित श्री रुद्रायणी दाफा खलबाट बाँसुरी प्रशिक्षण आयोजना गरिएको छ ।
३२ महिला र २२ पुरुष गरी कूल ५२ जनाले दैनिक बाँसुरी प्रशिक्षण लिइराखेका छन् । प्रशिक्षणमा ससाना बालबालिका देखि युवायुवती र आमासमूहका महिलाहरु समेत सहभागी छन् ।
विद्यार्थीको जाडोको विदा सदुपयोग गर्ने तथा दाफा खलको नियमित बाँसुरी प्रशिक्षणका क्रममा पनि उक्त प्रशिक्षण कार्यक्रम राखिएको प्रशिक्षक अमन मालीले बताए ।
गत मसिर २६ गतेबाट शुरु भएको प्रशिक्षण कार्यक्रम ३ महिनासम्म चल्नेछ ।
राति ६ बजेदेखि ७ बजेसम्म दैनिक चल्ने प्रशिक्षण राखेका कारण दिउँसो काम भ्याएर गृहणी महिलाहरु बाँसुरी सिक्न आइरहेका भेटिन्थे भने स्कूले विद्यार्थीहरु पनि जाडो विदाको सदुपयोग गर्दै बाँसुरी सिक्न ब्यस्त देखिन्थे । खोकनामा प्रत्येक बर्ष कात्तिक महिनाभरी मन्दिरमा गएर स्थानीय दाफा खलकहरुले खिँ,बासुरी बजाएर स्तोत्र पाठ गर्नुपर्ने नियम छ ।
यसअघि विशेष चाडपर्वमा मात्रै सिकाउने र बजाउने गरेपनि स्थानीय लोकगीत र बाद्यवादनको संरक्षण र प्रबद्र्धन गर्ने उदेश्यका साथ नयाँ पिँढीलाई लक्षित गरी बाँसुरी प्रशिक्षण कार्यक्रम राखिएको प्रशिक्षण कार्यक्रमका संयोजक लक्ष्मीप्रसाद डंगोलले बताए ।
यसअघि दाफा खलमा पुरुषले मात्रै प्रशिक्षण र वाद्यवादन सिक्ने र बजाउने गरिएपनि स्थानीय गृहणी महिलाहरुले नै बाँसुरी सिक्ने चाहना राखेपछि उनीहरुप्रति लक्षित गरी उक्त प्रशिक्षण कार्यक्रम ल्याइएको हो ।
जाडो विदा भएपछि स्थानीय स्कूलमा पढ्ने १० बर्षीय एलेक्स डंगोल आफ्नी आमासँगसँगै बाँसुरी सिक्न आएका छन् । एलेक्साकी आमा नमिता पनि साँझ भात पकाउने काम भ्याइ सकेपछि बाँसुरी सिक्न जाँगर चलाएकी हुन् ।
बाँसुरी प्रशिक्षणमा रुद्रायणी देपा दाफा खलका गुरुहरु काजीलाल डंगोल, नाती डंगोल, लक्ष्मीदास डंगोल, हेराबहादुर डंगोल र दयाराम डंगोलले दैनिक रुपमा प्रशिक्षणमा सहभागी जनाएर सहयोग गर्दै आएका छन् ।
स्थानीय समाजसेवी देव वहादुर डंगोलले प्रशिक्षणको लागि ठाउँ उपलब्ध गराइदिएपछि प्रशिक्षण नियमित रुपमा सञ्चालन गर्न सहयोग भएको थियो । साथै दाफा खलका चिच्या गुरु नन्द डंगोल र श्याम डंगोलले प्रशिक्षणको लागि चाहिने आवश्यक स्रोत साधनको व्यवस्थापन गरिदिएका थिए । रुद्रायणी दाफा खलका कजी अर्थात संयोजकले हरिराम डंगोल, परशुराम डंगोल र दशराम डंगोलले बाँसुरी प्रशिक्षणलाई प्रत्यक्षरुपमा सहयोगी भूमिका निभाएका छन् । दाफा खलका सबै गुरु,चिच्या,कजी लगायत सदस्यको सहयोगमा बाँसुरी प्रशिक्षण कार्यक्रम सुचारु गर्न सम्भव भएको लक्ष्मीप्रसाद डंगोलले बताए ।
स्थानीय दाफा खलको बाँसुरी प्रशिक्षणलाई ललितपुर सभासद सुशीला नेपालले आर्थिक रुपमा सहयोग गरिदिएकी थिइन् । रुद्रायणी देपा दाफा खलःले यसअघि स्थानीय लोकनाच(भिँ प्याखँ) लगायत परम्परागत बाजा अर्केष्ट्रा आयोजना गरि लोकबाजा र लोकसंस्कृतिका सरक्षणमा काम गर्दै आएका छन् ।