०६ साउन २०८३, बुधबार

एउटा अनौठो गाउँ- जहाँ कोब्रासँगै सुत्छन् मानिस, सर्पसँग खेल्छन् बालबालिका

साउन ५, २०८३
काठमाडौं
एउटा अनौठो गाउँ- जहाँ कोब्रासँगै सुत्छन् मानिस, सर्पसँग खेल्छन् बालबालिका
Ai generated photo

मानिस र सर्पबीचको सम्बन्ध निकै जटिल मानिन्छ। विषालु होस् या विषरहित, मानिसहरू सामान्यतया सर्पबाट टाढै रहन रुचाउँछन्। तर भारतको महाराष्ट्रस्थित एउटा यस्तो गाउँ छ, जहाँका बासिन्दाहरू विषालु कोब्रा सर्पलाई आफ्नै घरमा बस्ने ठाउँ दिन्छन्। त्यहाँ हरेक घरमा सर्पका लागि छुट्टै कोठा बनाइएको छ। सबैभन्दा आश्चर्यको कुरा त के छ भने, पुस्तौँदेखि चलिआएको यो परम्परामा आजसम्म सर्पले कसैलाई पनि डसेको छैन।

साधारणतया सर्प देख्नेवित्तिकै मानिसहरू आत्तिन्छन्, विशेष गरी विषालु कोब्रा देखेर मानिसहरू भाग्ने गर्छन्। तर महाराष्ट्रको सोलापूर जिल्लामा रहेको शेतपाल गाउँले यो सोचलाई पूर्ण रूपमा चुनौती दिएको छ। यहाँका मानिसहरू विषालु कोब्रा सर्पहरूसँग एउटै घरमा बस्छन्, उनीहरूसँगै सुत्छन् र साना बालबालिकाहरू सर्पसँगै खेल्छन्।

भारतीइ सञ्चार माध्यमहरुका अनुसार पुणेबाट करिब २०० किलोमिटर टाढा मोहोल तालुकामा अवस्थित शेतपाल गाउँका हरेक घरमा सर्पका लागि विशेष ठाउँ बनाइएको हुन्छ, जसलाई 'देवस्थान' वा 'देवघर' भनिन्छ। यो भित्तामा बनाइएको सानो खोप वा छुट्टै कुना हुन्छ जहाँ सर्पहरू स्वतन्त्र रूपमा आउने-जाने गर्छन्। गाउँलेहरू सर्पलाई परिवारको सदस्य मान्छन् र उनीहरूलाई दूध तथा फलफूल चढाउँछन्। स्थानीय बासिन्दाहरूका अनुसार यो परम्परा सदियौँ पुरानो हो। सर्प भगवान् शिवको रूप भएको र उनीहरूलाई हानि पुर्‍याउनु पाप मानिने उनीहरूको विश्वास छ।

गाउँमा कोब्रा, भाइपरलगायत अन्य थुप्रै प्रजातिका सर्पहरू छ्यापछ्याप्ती पाइन्छन्, तर कसैमा पनि डर देखिँदैन। बालबालिकाहरू विद्यालय जाँदा, घरमा खेल्दा वा सुत्दा पनि सहजै सर्पको नजिक हुन्छन्। स्थानीयका अनुसार सर्पहरू घरमा पाहुनाजस्तै आउँछन् र कसैलाई पनि आक्रमण गर्दैनन्।

वैज्ञानिक तथा वन्यजन्तु विज्ञहरूले यो अनौठो घटनाको अध्ययन गरे पनि यसको वास्तविक रहस्य अझै सुल्झिन सकेको समाचारमा उल्लेख छ । सर्पहरूलाई नियमित रूपमा भोजन मिल्ने र कसैले पनि जिस्क्याउने वा धपाउने नगर्ने भएकाले उनीहरू आक्रामक नभएको केही विज्ञहरूको अनुमान छ। गाउँमा विवाह, चाडपर्व वा कुनै पनि शुभ कार्य सर्पकै उपस्थितिमा सम्पन्न हुने गर्छ। यदि सर्पले घर छोडेर गएमा त्यसलाई अशुभ मानिने स्थानीय बताउँछन्।

विश्वभर 'स्नेक भिलेज'का रूपमा परिचित यो गाउँमा मानिस र सर्पको अनौठो सहअस्तित्व हेर्न टाढा-टाढाबाट पर्यटकहरू पुग्ने गर्छन्। गाउँमा आजसम्म सर्पले टोकेको कुनै पनि रेकर्ड नभएकाले चिकित्सक र वैज्ञानिकहरू समेत अचम्ममा परेका छन्।

वन्यजन्तु विज्ञहरूका अनुसार विश्वमा मानिस र हिंस्रक वन्यजन्तुबीच यस्तो शान्तिपूर्ण सहअस्तित्वका उदाहरण निकै दुर्लभ छन्। यद्यपि, विज्ञहरूले अन्य स्थानका मानिसहरूलाई यसको कपी वा नक्कल नगर्न चेतावनी दिएका छन्, किनभने स्थान र वातावरण अनुसार सर्पको व्यवहार फरक हुन सक्छ। 

आधुनिक युगमा जहाँ वन्यजन्तु र प्रकृतिको विनाश भइरहेको छ, त्यहाँ शेतपाल गाउँले प्रकृतिसँगको सम्मानजनक सहअस्तित्व सम्भव छ भन्ने उदाहरण पेस गरेको छ। आज पनि त्यस गाउँका बालबालिकाहरू सर्प देखेर भाग्दैनन्, बरु उनीहरूलाई 'मामा' वा परिवारको सदस्य भनेर सम्बोधन गर्छन्।

कमेन्ट गर्नुहोस्