१२ साउन २०८३, मंगलबार
बीपीपुत्रको अपिल

पार्टीलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्वकै हो- शशांक कोइराला

साउन ६, २०८३
काठमाडौं
पार्टीलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्वकै हो- शशांक कोइराला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र देखिएका असन्तुष्टि, मतभेद र विवादलाई समयमै सम्बोधन गर्नुपर्ने बताएका छन् ।

उनले संगठनलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्वको रहेको समेत बताए ।

४४ औं बीपी स्मृति दिवसको अवसरमा बुधबार कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्वले सबै नेता कार्यकर्ताको स्वाभिमानलाई सम्मान गर्दै संवाद, सहमति र सहकार्यको वातावरण निर्माण गर्न सके मात्र कांग्रेस वास्तविक रूपमा एकताबद्ध हुने बताएका हुन् ।

‘अन्यथा पार्टी एकतामा क्षति तथा पार्टी विभाजनको अवस्थामा पुग्यो भने त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्छ’, कोइरालाले भने । 

डा. कोइरालाले अहिले मुलुकले जटिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीको सामना गरिरहेको बताउँदै बीपी कोइरालाले लामो निर्वासनपछि राष्ट्रहितलाई सर्वोच्च स्थानमा राखेर राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको स्मरण गर्दै यी चुनौतीको सामना गर्ने सामर्थ्य आज सबैले राख्न सक्नुपर्ने उल्लेख गरे । 

‘लोकतान्त्रिक संस्थामाथिको हस्तक्षेप चिर्दै मुलुकलाई सही दिशा दिन जिम्मेवार राजनीतिक शक्तिहरूले परिपक्व सहकार्यका साथ दूरदृष्टि राखेर अघि बढ्नु आजको आवश्यकता हो’, कोइरालाले भने । 

उनले लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति नेपाली कांग्रेसभित्र देखिएका असमझदारी, अविश्वास, समूहगत अस्वस्थ्य प्रतिस्पर्धा र अनावश्यक विवादले पार्टीलाई कमजोर तथा नागरिकमा समेत नकारात्मक प्रभाव पार्ने खतरालाई नजरअन्दाज गर्न नहुने बताए ।​

पूर्वमहामन्त्री डा. कोइरालाले लोकतन्त्रमा विचारको भिन्नता स्वाभाविक भएको बताउँदै विचारको भिन्नतालाई विभाजनको आधार होइन, साझा निष्कर्षमा पुग्ने अवसरका रूपमा लिनुपर्ने बताए । 

बीपीले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको नीति, संवाद, सहिष्णुता र सहकार्यको राजनीतिक संस्कारले यही प्रेरणा दिने उनको भनाइ छ । 

उनले बीपी कोइरालाको विचारलाई जीवन्त राख्नु आफ्नो पहिलो र अन्तिम दायित्व रहेको बताउँदै भने, ‘मलाई विश्वास गर्नुस्, म बीपीलाई जीवन्त राख्नेछु । कहिल्यै मर्न दिने छैन ।’

बीपीको राष्ट्रियता, लोकतन्त्र, समाजवाद र राष्ट्रिय मेलमिलापको नीति आज पनि नेपालको राजनीतिमा उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ । 

कोइरालाले बीपीले आफ्नो सम्पूर्ण जीवन राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारका लागि समर्पित गरेको बताउँदै नेपाली राजनीतिलाई केवल सत्ताको माध्यमका रूपमा होइन, राष्ट्रिय हित, जनकल्याण र लोकतान्त्रिक संस्कृतिको सम्वर्द्धन गर्ने साधनका रूपमा स्थापित गरेको उल्लेख गरे । 

डा. कोइरालाले अहिलेको जटिल अवस्थामा आरोप–प्रत्यारोप, आग्रह–पूर्वाग्रह र समूहगत स्वार्थभन्दा माथि उठेर पार्टीको विचार, संगठन तथा राजनीतिक एकतालाई सुदृढ बनाउँदै नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई पार्टीभित्रको एकता र सहकार्यलाई मजबुत बनाउन अपिल गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्