
रुकुम, २८ पुस– प्रधानन्यायाधीश गोपाल पराजुलीले अहिले केही विषयलाई लिएर न्यायपालिकाबारे अफवाह फैलाउने काम भएको बताएका छन् ।
सोमबार रुकुमकोट जिल्ला अदालतको उद्घाटन गर्दै अहिले केही विषयलाई लिएर न्यायपालिकाबारे अफवाह फैलाउने काम भए पनि सत्य कुरा बाहिर आएपछि सबै समस्याको समाधान हुने बताए ।
असल कामका लागि आफू जीवन समर्पित गर्न तयार रहेको भन्दै पराजुलीले न्याय र न्यायिक प्रक्रियाबाट अदालत बिचलित हुन नहुने समेत बताए ।
पराजुलीले संविधान कार्यान्वयनको चरणको क्रममा रुकुमकोट जिल्ला अदालतको सुरुवात हुनु महत्वपूर्ण उपलब्धि भएको समेत बताए । जिल्ला अदालतमा पूर्वाधार विकासका कार्यहरु क्रमश हुने उनको भनाइ थियो । ‘ जिल्ला अदालतमा पूर्वाधार अभाव भएको कुरा आइरहेका छन्,’ पराजुलीले भने, ‘पूर्वाधार अभाव भयो भनेर कोही अनसन बस्लान् । पूर्वाधार भनेको क्रमश विकास हुँदै जाने कुरा हो ।’
जिल्ला अदालतको स्थापनाबाट रुकुमेली जनताको न्यायमा पुहँच बढ्ने प्रधानन्यायाधीश पराजुलीको विश्वास छ ।
कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिमला मन्त्री यज्ञबहादुर थापाले संघीय व्यवस्थापछि नयाँ संरचना निर्माणको कार्यले समयक्रमसँग मूर्त रुप लिने बताए । उनले जिल्ला अदालतको स्थापनाले रुकुम पूर्वका जनतालाई न्यायमा पहुँचको विस्तार भएको पनि बताए ।

कार्यक्रममा रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य कमला रोकाले ४४ बर्षपछि रुकुमकोटबाट स्थानान्तरण भएर मुसिकोट सरेको संरचना फेरी फर्कनु र आफ्नै आँगनमा अदालत पाउनु रुकुमेली जनता खुसीको कुरा भएको बताइन् ।
कार्यक्रममा न्याय परिषद्का सदस्य पदम बैद्धिक, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदी र रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले ‘छिटो छरितो न्याय सबैका लागि न्याय’ भन्ने मूल ध्येय राखेर सर्वोच्च अदालतले रणनीतिक योजना अगाडि सारेको बताए ।