
विश्वका ९० प्रतिशतभन्दा बढी अत्याधुनिक सेमिकन्डक्टर चिप्सहरू ताइवानमा उत्पादन हुन्छन्। कोभिड महामारीका बेला देखिएको चिप अभावले विश्व अर्थतन्त्रलाई नै प्रभावित पारेपछि अमेरिका, जापान, दक्षिण कोरिया र युरोपेली संघलगायत देशहरूले आपूर्ति शृङ्खला सुरक्षित बनाउन ठूला कार्यक्रमहरू ल्याएका छन्। यसैक्रममा, भारतले पनि विश्वको प्रमुख इलेक्ट्रोनिक्स हब बन्ने लक्ष्यसहित हालसम्मकै ठूलो प्रयास अघि बढाएको छ।
भारतीय सरकारले हालै १३ अर्ब २० करोड डलरको ‘सेमिकन २.०’ कार्यक्रम स्वीकृत गरेको छ। यो परियोजना सन् २०२१ मा शुरू गरिएको ९ अर्ब डलरको ‘इन्डिया सेमिकन्डक्टर मिसन’ मा आधारित छ, जसले चिप डिजाइन, फ्याब्रिकेशन, प्याकेजिङ, सामग्री र जनशक्ति तालिमसहितको सम्पूर्ण इकोसिस्टम विकास गर्ने लक्ष्य राखेको छ।
बेङ्गलुरु, हैदराबाद र नोइडालगायत सहरहरूमा हजारौँ इन्जिनियरहरूले एनभिडिया र क्वालकमजस्ता कम्पनीहरूका लागि चिप्स डिजाइन गरिरहेका छन्। तर, ठूलो परिमाणमा तिनको उत्पादन (म्यानुफ्याक्चरिङ) गर्ने काममा भने भारत पछाडि रहेको विश्लेषकहरूको भनाइ छ।
अमेरिकाको माइक्रोन टेक्नोलोजी र भारतका केन्स सेमिक तथा सीजी सेमीजस्ता कम्पनीहरूले व्यावसायिक उत्पादन शुरू गरिसकेका छन्। सरकारले सन् २०३० सम्ममा १०० देखि ११० अर्ब डलरको आन्तरिक सेमिकन्डक्टर बजार निर्माण गर्ने र स्थानीय मागको तीन चौथाइ हिस्सा पूरा गर्ने लक्ष्य राखेको छ।
यद्यपि, चिप उत्पादन अत्यन्त महँगो र चुनौतीपूर्ण कार्य हो। एउटा अत्याधुनिक फ्याब्रिकेशन प्लान्टलाई २० अर्ब डलरभन्दा बढी लागत लाग्ने, निरन्तर बिजुली, अत्यधिक शुद्ध पानी र रासायनिक सामाग्रीको आवश्यकता पर्छ। आइआइटि मद्रासका निर्देशक भी कामाकोटीका अनुसार भारतले सुरुमा अत्याधुनिक ३ एनएम चिप्सको सट्टा अधिकांश आवश्यकता पूरा गर्ने २८ एनएम (नानोमिटर) चिप्सको भरपर्दो उत्पादनमा जोड दिनुपर्छ।
कृत्रिम बौद्धिकताको द्रुत विकास र भूराजनीतिक तनावका कारण विश्वभर सेमिकन्डक्टरको माग बढिरहेको छ, जसले भारतलाई नयाँ अवसर प्रदान गरेको छ। कतिपय विज्ञहरू भारत तत्काल उत्पादनभन्दा डिजाइन, प्याकेजिङ र परीक्षणमै बढी बलियो रहने आकलन गरे पनि, निरन्तर लगानी र नीतिगत सहयोगले भारत आगामी दशकमा एक महत्वपूर्ण उत्पादन हब बन्न सक्ने विश्वास व्यक्त गर्छन्। भारतको यो प्रयास कारखाना स्थापना, दक्ष कामदार र प्रतिस्पर्धात्मक इकोसिस्टम निर्माण गर्न कति सफल हुन्छ भन्ने कुरामा निर्भर गर्दछ।