१२ साउन २०८३, मंगलबार

नामिबियासँग नेपाल ३ रनले पराजित

साउन ११, २०८३
काठमाडौं
नामिबियासँग नेपाल ३ रनले पराजित

आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको रोमान्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ । नेदरल्याण्ड्सको उट्रेचमा सोमबार सम्पन्न खेलमा २१२ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४५ रन बनाए भने कप्तान रोहित पौडेलले ४१ रनको योगदान दिए । खेलको अन्त्यतिर आरिफ शेखले ३८ रनमा अविजित रहँदै र गुल्सन झाले १० बलमा विष्फोटक १९ रन जोड्दै जितको आशा जगाए पनि टोलीलाई लक्ष्यसम्म पुर्‍याउन सकेनन् । कुशल भुर्तेलले ३४ र इशान पाण्डेले १४ रन जोडे । नामिबियाका बलर ज्याक ब्रासेलले ३ र रुबेन ट्रम्पलम्यानले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रन बनाएको थियो । नामिबियाको पारिलाई उकास्न जान फ्रिलिङ्कले उत्कृष्ट प्रदर्शन गर्दै १४९ बलमा १०० रनको शतकीय पारि खेले । त्यस्तै लरेन स्टिनक्याम्पले ५९ रन जोडे ।
नेपालका लागि तीव्र गतिका बलर करण केसीले घातक बलिङ गर्दै १० ओभरमा २ मेडन राखेर मात्र २९ रन खर्चेर ५ विकेट लिएका थिए । सोमपाल कामीले १ विकेट हात पारे भने अन्य बलरहरू विकेटविहीन रहे ।

करणको उत्कृष्ट बलिङ र फ्रिलिङ्कको शतकका बीच भएको यो कडा प्रतिस्पर्धामा नेपाल अन्तिम ओभरमा ३ रनले चुक्न पुग्यो ।

salt training

कमेन्ट गर्नुहोस्