
काठमाण्डौं, २ माघ– २६ वर्षका प्रदीप खड्का र ३० वर्षकी प्रियंका कार्कीको जोडी कस्तो होला ? यतिबेला सबैलाई चासोको विषय बनेको छ ।
प्रियंका र प्रदीपको जोडी पर्दामा बाँधिने खबर जब बाहिरियो तब धेरैले स्क्रिनमा दिदी–भाई देखिने भन्दै आलोचना पनि गरे । बैशाख १४ गते उनी अभिनीत बहुप्रतिक्षीत फिल्म ‘लिलिबिली’ प्रदर्शनमा आउँदैछ ।
सोमवार ‘लिलिबिली’को गीत रिलिज कार्यक्रममा उनीमाथी पत्रकारको प्रश्न तेर्सियो–‘कम उमेरको नायकसँग काम गर्दा कस्तो अनुभव रह्यो ? उनले उल्टै पत्रकारलाई नै प्रश्न गरिन्, ‘जब एउटा अभिनेताले कुनै २० वर्ष कम उमेरको नायिकासँग काम गर्छ तब यो प्रश्न किन उठ्दैन ?’
उनले अगाडि भनिन्, ‘यो ठूलो कुरा होइन । आफूभन्दा कम उमेरको नायकसँग काम गर्दा पहाड नै खोलाले बगाएर लान्छ जस्तो मलाई लाग्दैन । हामीले आफ्नो भूमिका न्यायपूर्वक निर्वाहा गर्ने हो ।’
प्रियंकाको छेवैमा बसेर मन्द मुस्कान छाडिरहेका नायक प्रदीपले थपे, ‘म उहाँभन्दा कम उमेरको भए पनि सँगै काम गर्दा मैले आफूलाई उहाँकै उमेरको महशुस गरेको थिएँ ।’ प्रदीपको यो जवाफ सुनेपछि प्रियंकाले आफ्नो हाँसो रोक्न सकिनन् ।
हुनत, यसअघि प्रियंकाले आफूभन्दा कम उमेरका रियल प्रेमी आयुष्मान देशराज जोशीसँग फिल्म ’कथा काठमाण्डू’मा काम गरिसकेकी छिन् ।