
काठमाडौं, २ माघ — सुरक्षासम्बन्धी चिन्ताका कारण चिनियाँ प्रविधि कम्पनी हुआवेमाथि प्रतिबन्ध लगाउने एक विधेयक अमेरिकाले प्रस्ताव गरेको छ । प्रस्तावअनुसार, चिनियाँ कम्पनीलाई अब अमेरिकामा कुनै पनि सरकारी ठेक्का दिइने छैन ।
सुरक्षाका कारण अमेरिकाको सरकारी कम्पनीले हुआवे र जेडटीईसँग काम गर्न पाउने छैनन् ।
एनग्याजेटको रिपोर्टअनुसार, बिल टाइटल एचआर ४७४७ मा डिफेन्डिङ युएस गभर्नमेन्ट कम्युनिकेसन एक्टअन्तर्गत अनेकौं जासूसी रिपोर्टहरूलाई उद्धृत गर्दै चिनियाँ दूरसञ्चार कम्पनीहरूले राज्यलाई प्रभावित गरेका छन् ।
सन् २०११ को प्रतिवेदनमा युनाइटेड स्टेट्स चाइना कमिसनले हुआवे र अन्य कम्पनीहरू चिनियाँ सरकारको प्रभावमा रहेको आरोप लगाएको थियो । सीआईए र एनएसएका माइकल हेडनले एक बयानमा यी टेलिकम कम्पनीहरू चिनियाँ सरकारको प्रभावमा रहेको र यिनीहरूले संवेदनशील जानकारी सरकारलाई बताउने गरेको आरोप लगाएका थिए ।
सन् २०१५ को एफबीआई रिपोर्टमा पनि यही चिन्ता दोहो–याइएको थियो । चिनियाँ सरकारले हुआवेमार्फत अमेरिकी व्यापारिक कम्पनीहरूमा सजिलै पहुँच बनाएको आरोप त्यसमा लगाइएको थियो ।
यसबाहेक सन् २०१७ मा जेडटीई कर्पोरेसनलाई अमेरिकी मूलका सामानहरूलाई इरानमा अवैध रूपमा जहाजमार्फत पु–याएको भनी दोषी पनि ठह–याइएको थियो ।
यसअघि सन् २०११ मा हुआवे र जेडटीई उपकरणहरूलाई प्रतिबन्धित गर्ने विषयमा हंगामा भएको थियो । यी दुवै कम्पनीले स्विच, रेडियो र एन्टिना संसारभरि सप्लाई गर्ने गरेका छन् । प्रतिवेदनमा बताइएअनुसार, दुवै कम्पनी चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशन मान्छन् । अमेरिकाको सुरक्षाका लागि यिनीहरूमाथि प्रतिबन्ध लगाउने विधेयक प्रस्ताव गरिएको हो ।
एजेन्सी