
काठमाडौं, २ माघ — आतंकवादी संगठन तालिबानले पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको जिम्मेवारी लिएको छ ।
एक किताबमा दाबी गरिएअनुसार पाकिस्तानमा अमेरिकाको सहायताले भुट्टो मुजाहिद्दी–ए–इस्लामविरुद्ध कारवाही गर्न खोज्दै थिइन् त्यसैले उनको हत्या भएको हो ।
तालिबानको यस दाबीको खुलासा 'इन्कलाब महसूद साउथ वजिरिस्तान : फ्रम ब्रिटिश राज टु अमेरिकन इम्पेरियलिजम'मा गरिएको छ । यस किताबलाई तालिबान प्रमुखले लेखेका हुन् ।
यसअघि पाकिस्तानका पूर्व सेनापति तथा राष्ट्रपति जनरल परवेज मुशर्रफमाथि भुट्टोको हत्याको आरोप लागेको थियो । पाकिस्तानमा तालिबान कमान्डर बैयतुल्लाह महसूदले अमेरिकाको सहायतामा बेनजीर सत्तामा आउन लागेको र
मुजाहिद्दी–ए–इस्लाममाथि कारवाही चलाउने सूचना पाएको किताबमा लेखेका छन् ।
बिलाल र इकरामुल्लाहले डिसेम्बर २००७ मा भुट्टोको –यालीमा आत्मघाती आक्रमण गरेर उनको हत्या गरेको किताबमा उल्लेख छ ।
कुल ५५८ पृष्ठ भएको किताबमा तालिबानी नेताहरूको तस्वीरहरू छापिएका छन् ।
एजेन्सी