काठमाडौं, २ माघ — कम्युनिस्टहरू नेपालमा सत्तारोहण गर्दैछन् र कसैले पनि यसलाई वास्ता गरेको छैन । तीस वर्षअघि यसो भएको भए गम्भीर अन्तर्राष्ट्रिय संकटको स्थिति हुन्थ्यो होला । पचास वर्षअघि यसो भएको भए विदेशी सैन्य हस्तक्षेप हुन्थ्यो होला । अहिले कसैलाई मतलब छैन । नेपालबाहिर यसको खासै समाचार नै बनेन ।
महान् मार्क्सवादी परम्पराअनुसार, नेपालका कम्युनिस्टहरू विचारधारा र रणनीतिका साना विन्दुहरूका आधारमा पटकपटक टुक्रिएका छन् । तर हालै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन बनाएर आमनिर्वाचनमा विशाल विजय हासिल गरेका छन् ।
यसअघि विभिन्न कम्युनिस्ट नेताहरूले अस्थायी गठबन्धन सरकारहरूको नेतृत्व गरेका थिए । ती कुनै पनि एक वर्षभन्दा बढी टिकेनन् । लगभग १२ वर्षदेखि नेपाल संक्रमणकालमै छ तर वास्तवमा कम्युनिस्टहरू शक्तिमा छन् भन्न मिल्दैन ।
अब चाहिँ उनीहरू शक्तिमा छन् भन्न मिल्छ । एमाले र माओवादी केन्द्रले संयुक्त रूपमा चुनाव लडेर लगभग दुईतिहाइ बहुमत ल्याए । यी दुई दलले ६ महिनाभित्र एकता गर्ने प्रतिज्ञा गरेका छन् र उनीहरूले सबै कुरा सही भएमा पाँच वर्ष शासन चलाउनेछन् ।
उनीहरू वास्तविक कम्युनिस्ट हुन् । माओवादीहरूले १० वर्षे क्रान्तिकारी छापामार युद्ध लडेका थिए जसमा १७ हजार मानिस मारिए । सन् २००६ मा युद्धविराम भयो अनि लोकतान्त्रिक संक्रमणकाल शुरु भयो ।
नेपाल सानो कुनाको असान्दर्भिक देश होइन । यहाँ अस्ट्रेलियाको भन्दा बढी जनसंख्या छ र यसले चीन र भारतबीचमा हिमालय सीमाको आधी भाग ओगटेको छ । विश्वका थिंकट्यांक र रणनीतिक अध्ययन संस्थानहरूका लागि यो महत्त्वपूर्ण रणनीतिक भूभाग हो । तर वाशिङटनले कम्युनिस्टहरू सत्तामा आएकोलाई वास्ता गरेको छैन अनि मस्कोलाई पनि मतलब छैन ।
नयाँ दिल्ली र बेइजिङले एसियाका सबभन्दा ठूला मुलुकका रूपमा पाल्ने प्रतिस्पर्धाको भावनाका कारण केही वास्ता गर्छन् । उनीहरू दुवै नेपालसँगको सम्बन्धलाई जिरो सम गेमका रूपमा लिन्छन् । भारतले परम्परागत रूपमा नेपालमा प्रभाव जमाउँदै आएको छ (सबै नेपालीहरू हिमालयको भारतीय साइडमा बस्छन्) र यो प्रभाव नेपाली कम्युनिस्टहरूले चीनका कम्युनिस्टलाई प्राथमिकता दिनाले जोखिममा परेको बताइन्छ ।
तर यसले साउथ ब्लक वा चाओयाङमा चिन्ता ल्याएको छैन । वास्तविकता के हो भने सन् २०१८ मा कम्युनिस्टहरू सरकारमा आउनुले संसारलाई केही फरक पार्दैन जसरी सन् १९७५ मा दक्षिण भियतनाममा कम्युनिस्टहरू सत्तामा आउँदा फरक परेको थिएन ।
कानूनी तथा लोकतान्त्रिक विधिले कम्युनिस्टहरू सत्तामा आउँदा कुनै तर्सिनुपर्ने कारण छैन । कम्युनिस्ट सरकारले नेपालीहरूको सेवा गर्छ कि गर्दैन हेर्न बाँकी छ तर नेपालका कम्युनिस्टहरू संसदीय लोकतन्त्रका नियमलाई सम्मान गर्नका लागि सार्वजनिक रूपमा प्रतिबद्ध छन् र बहुसंख्यक नेपालीहरूले उनीहरूलाई विश्वास गर्छन् ।
ब्यांगोर डेली न्युजमा प्रकाशित ग्विन डायरको लेखको भावानुवाद