३१ जेठ २०८३, आइतबार

मंगलबार दिनभर : प्रदेश प्रमुख तोक्न अलमल गर्दै सरकार, देउवाविरुद्ध तीन कोइराला एकजुट

मंगलबार दिनभर : प्रदेश प्रमुख तोक्न अलमल गर्दै सरकार, देउवाविरुद्ध तीन कोइराला एकजुट

काठमाडौं–निर्वाचन आयोगको अपेक्षा विपरित  सरकारले प्रदेश प्रमुख नियुक्तिमा ढिलाई गर्दै आएको छ । पुस १४ यता आयोगले सरकारको निर्णयको आसमा बसेको भएपनि हालसम्म पनि  मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति नगरेको हो । तीन सातायता राजनीति प्रदेश प्रमुख नियुक्तिको गतिरोधले ठप्प छ । 
यसैक्रममा प्रदेश प्रमुख नियुक्त गर्न मंगलवार बस्ने भनिएको मन्त्रिपरिष्द बैठक स्थगित भयो ।  मंगलवार स्थगित बैठक बुधवार बिहान बस्ने एक मन्त्रीले जानकारी दिए ।
प्रदेश प्रमुख नियुक्तिका लागि मंगलवार अपरान्ह साढे ४ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको कृषि विकास मन्त्री रामकृष्ण यादवले  जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको कांग्रेसका प्रभावशाली नेताहरुको बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक स्थगित गरेका हुन् । 

तीन कोइरालाको बैठक 
कांग्रेसका महामन्त्री डा. शशांक कोइरालासहित कोइराला परिवारका ३ प्रभावशाली नेताबीच मंगलबार भेटवार्ता भएको छ। पार्टी केन्द्रीय सदस्य सुजाता कोइरालाको निवास मण्डिखाटारमा भएको भेटमा शशांक र सुजातासहित अर्का केन्द्रीय सदस्य डा. शेखर कोइराला सहभागी थिए।

भेटलाई पारिवारिक जमघट भनिए पनि वर्तमान राजनीतिक अवस्था, निर्वाचनमा पार्टीले भोगेको पराजय र भावी रणनीतिका विषयमा छलफल भएको निकट स्रोतले जानकारी दियो। कांग्रेस चुनावमा पराजित हुनुमा संस्थागत ढंगले नचल्नु र शेरबहादुर देउवाको नेतृत्व कमजोर बन्नु नै मुख्य कारण रहेको निष्कर्ष छलफलबाट निकालिएको स्रोतले बतायो।

कांग्रेसमा बलियो राजनीतिक विरासत बोकेको कोइराला परिवारका ३ प्रभावशाली नेताबीच फेरि कोइराला विरासत कसरी फर्काउने भन्नेमा पनि विचार विमर्श भएको बताइएको छ । 

स्रोतका अनुसार तीनै नेताले पार्टीको भावी नेतृत्व कोइराला परिवार भित्रैबाट खोज्ने गृहकार्य थालेका छन्। सभापतिका रुपमा महामन्त्री शशांकलाई अघि सार्ने तयारी छ। शशांकले पनि सार्वजनिक रुपमै पार्टीको नेतृत्वका लागि आफू तयार रहेको बताउने गरेका छन्। यसअघि गत साउनमा पनि यी तीन नेताबीच छलफल भएको थियो।

राजपाको  फाइनल समानुपातिक सूची 
निर्वाचन आयोगको चेतावनीपछि राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले प्रदेशसभा  समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ  ।  
राजपाले आयोगले भनेअनुसार नाम बुझाउन आनाकानी गरेपछि आयोगले पनि राजपालाई पेलेरै समानुपातिक नतिजा सार्वजनिक गर्ने तयारी गरेपछि सूची बुझाइएको हो । 
नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर नै आयोग पुगेर मंगलबार सूची बुझाएका हुन् । आयोगले सूची क्रमसंख्या नभएको भन्दै फिर्ता पठाएको थियो भने  राजपाले सच्याउन अटेर गर्दै आएको थियो । 
 राजपा नेपालले दुई नम्बर प्रदेशबाट जानकी शरण साह, रामनरेश राय, नेत्रविक्रम साह, बबिता कुमारी, निलम देवी, भूमी हारीन, अञ्जुकुमार, डा डिम्पल झा, निराकुमारी साह, रिना यादव र अल्का कुमारी झाको नाम आयोगमा बुझाएको छ।


त्यस्तै, पाँच नम्बर प्रदेशबाट विम पन्त र सात नम्बर प्रदेशबाट मालमती रानाको नाम आयोगमा बुझाएको छ ।

डिपिआर आफैँ तयार गर्ने निर्णय

नेपाली सेनाले भारतीय कम्पनीले निर्माण गरेको काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) औपचारिक रूपमा अस्वीकार गर्दै आफैँ तयार गर्ने निर्णय गरेको छ । भारतीय ठेकेदार कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज (आइएलएफएस)ले डिपिआरको मूल्य करिब ६१ करोड १२ लाख रुपैयाँ दाबी गरेको थियो । तर, कम्पनीका प्रतिनिधिसँगको वार्तामा सेनाले डिपिआर अपूरो र महँगो भएको कारण देखाउँदै अस्वीकार गर्ने निर्णय सुनाएको थियो ।

‘भारतीय कम्पनीले तयार गरेको डिपिआर नलिने र चालू आर्थिक वर्षभित्र आफैँ तयार गर्ने निर्णयमा पुगेका छौँ,’ आयोजनाका उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले मंगलबार  भने, ‘तत्काललाई डिपिआर नहुँदा पनि गर्न सकिने काम तय गरेका छौँ । डिपिआर तयार गरेपछि त्यहीअनुसार द्रुतगतिमा काम गर्छौँ ।’ उनले नयाँ डिपिआर तयार गरेर पनि तोकिएकै समय (आगामी चार वर्ष) भित्र द्रुतमार्ग निर्माण सम्पन्न हुने दाबी गरे ।

 
कर्पोरेट वार
व्यापारी अजयराज सुमार्गीले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पत्रकार सम्मेलन गरेको भोलिपल्ट मंगलबार कान्तिपुर पब्लिकेसनले सुमार्गीको आरोपको खण्डन   गर्दै मुख्य मुद्दाबाट ध्यान मोड्न कान्तिपुरविरुद्ध सुमार्गीले  गम्भीर आक्षेप लगाएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।  

कान्तिपुरले सुमार्गीलाई  सोमबार पत्रकार सम्मेलन गरेर लगाएको सबै आक्षेपलाई एक–एक गर्दै पुष्टि गर्न चुनौती समेत दिएको छ ।  अन्यथा समाचार प्रकाशन गरेकै कारण कहिले ज्यान मार्न खोजेको उजुरी दिने र कहिले कपोलकल्पित आरोपहरू लगाएर चरित्रहत्या गर्न खोज्ने सुमार्गी–प्रवृत्ति सजायको भागिदार हुनैपर्ने कान्तिपुरले  विज्ञप्तिमा उल्लेख गरेको छ । 

सुमार्गीबारेको समाचार शुद्धीकरण विभागले प्रहरीको सीआईबीसित मिलेर तयार पारेको अध्ययन प्रतिवेदनमा आधारित भएको पनि कान्तिपुरले जनाएको छ ।

दीपक मनाङ्गे समूहका चार जनालाई सफाइ 


सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा राजीव गुरुङ (दीपक मनाङ्गे) समूहका चारजनालाई सफाइ दिने पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गरेको छ । 

न्यायाधीशहरु दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मंगलबार मनाङ्गे समूहका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिने २०६४ सालको पुनरावेदनकै फैसला सदर गरेको सहमहान्यायाधिवक्ता संजीवराज रेग्मीले  जानकारी दिए  । 

दीपक मनाङ्गेको समूहले २०६१ सालमा मिलन चक्रेलाई तरबार हानेको विषयमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा कर्तव्य ज्यानको मुद्दा चलाएको थियो । 
सहन्यायाधिवक्ता रेग्मीका अनुसार सर्वोच्च अदालतमा मनाङ्गेको नाममा पुनरावेदन गरिएको थिएन । मनाङ्गेको पुनरावेदन गर्ने समय पत्रिकामा प्रकाशित गरेको थियो तर मनाङ्गेले पुनरावेदन गर्ने समय सकिएपछि अदालतमा पेशी चढेको हो । 

पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दैसर्वोच्च अदालतले मनाङ्गे समूहका चारजनालाई सफाइ दिने पुनरावेदन अदालतको फैसला सदर गरेको तर मनाङ्गेको विषयमा सर्वोच्च अदालतले केही पनि बोलेको छैन । 

सुन तस्करी घटनामा फरार अभियुक्त पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सुन तस्करी घटनामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । 

व्यूरोबाट खटिएको टोलीले २०७३ पुसमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ३३ किलोग्राम सुनसहित पक्राउ परेका फरार अभियुक्त भारतीय नागरिक राहुल गोयललाई पुस २६ गते काठमाडौँबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरको हो । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २०७३ फागुन २२ गते जिल्ला अदालत समक्ष अभियोग पत्रसहित पेश गरेकामा गोयल फरार रहेका थिए । गैरीधारा बस्ने गोयल विशालबजारमा रहेको सालिमार ज्वेलर्स सुन पसलका सञ्चालक समेत हुन् । 

नर्सको विरोध कायमै

विभिन्न ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरूले मंगलबार पनि तीन घण्टा काम छाडेर विरोध जनाएका छन् । 

स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट लामो समय स्वयंसेविकारुपमा काम गराएर निष्काशित गरिएका नर्सको पुनःस्थापनालगायतका ११ बुँदे माग राखी नेपाल नर्सिङ संघले गत पुस २७ गतेदेखि देशव्यापीरुपमा चरणबद्ध आन्दोलन गर्दै आएको छ । 

माग पूरा नभएको भन्दै नर्सले माघ १ देखि ३ गतेसम्म दिनको तीन घण्टा काम छाडेर विरोध जनाउने छन् । संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले माग पूरा नभए माघ ४ गतेदेखि ६ गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा बिहान ८ देखि ४ बजेको सिफ्टमै काममा नजाने बताइन् ।


काँग्रेस केन्द्रीय समितिको बैठक बिहिबार
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक माघ ४ गते बस्ने भएको छ । 

बैठक बिहीबार बिहान ११ः०० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने र बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


अध्यक्ष ओली बिहीबार फर्कने
नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कने भएका छन् । 

गत पुस २६ मा त्यसतर्फ गएका उनी मंगलबार आउने कार्यक्रम रहेकामा दुई दिन थप भई यही माघ ४ गते फर्कने उनका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिए  । पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तराष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको छ । 

वामदेवको चेतावनी 


नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता हस्तान्तरण गर्न आनाकानी गरिरहे सडकबाटै संसद बैठक बोलाएर नयाँ सरकार गठन गर्ने चेतावनी दिएका छन्।

भक्तपुरमा मंगलबार समय संवाद साप्ताहिकको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले सो कुरा बताएका हुन्।

'नेपालको संविधानले दिएको अधिकारलाई प्रयोग गरेर संसद बैठक हामी बोलाउँछौं, हामीले नै सञ्चालन गर्छौं, सरकारलाई बर्खास्त गर्छौं, सिंहदरबारमा जनताका प्रधानमन्त्रीलाई राखेर साशन गर्छौँ,' उनले भने, 'जनताको बीचमा जानेछौँ, लाखौँ करोडौं जनताको बीचबाट घोषणा गर्नेछौँ, अनि कांग्रेस सँधाका लागि समाप्त हुनेछ।'

विदेशका खबर 
 लिबियाको राजधानीमा रहेको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार लडाकूले आक्रमण गरेपछि सुरक्षाकर्मी र आतङ्ककारीबीच भएको झडपमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । यस आक्रमणमा परी अन्य ६३ जना घाइते भएका छन् । 

जेलमा रहेका आफ्ना समर्थकलाई छुटाउन भन्दै लडाकूले विमानस्थल मै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षबीच झडप भएको अधिकारीले बताएका थिए । 

झडपका क्रममा भएको गोलाबारीमा परी छ वटा विमान प्रभावित भएको जनाइएको छ । 

मारिएका मध्ये कति जना लडाकूतर्फका छन् र कति जना सर्वसाधारण छन् भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन । 

घटनामा परी घाइते भएकामा केहीको अवस्था गम्झीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ । 

मिटिगा विमानस्थल त्रिपोलीबाट पूर्वतर्फ पर्दछ । यो आमनागरिकले प्रयोग गर्ने अन्तरराष्ट्रिय विमानस्थल हो । सन् २०१४ मध्यतिर विद्रोही लडाकूले आक्रमण गर्दा भएको झडपपछि सो विमानस्थल क्षतिग्रस्तरुपमा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्